स्वीट्जरल्यान्ड प्रिक्वार्टरफाइनलमा प्रवेश

  मंसिर १७, २०७९

काठमाडौं, मंसिर १७ : सर्बियामाथि रोमाञ्चक जित निकाल्दै स्वीट्जरल्यान्ड कतारमा जारी फिफा विश्वकप फुटबलका प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

समूह ‘जी’ अन्तर्गत स्टेडियम ९७४ मा शुक्रबार राति भएको खेलमा स्वीट्जरल्यान्डले सर्बियालाई ३-२ गोलले हरायो ।स्वीट्जरल्यान्ड समूह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो । यस समूहबाट यसअघिनै अन्तिम १६ मा स्थान बनाएको ब्राजिल समूह विजेता बनेको छ ।

शुक्रबार राति नै भएको खेलमा क्यामरुनसँग १-० गोलले पराजित भएपनि ब्राजिललाई कुनै असर परेन । ब्राजिललाई हराएको क्यामरुन र स्वीट्जरल्यान्डसँग हारेको सर्बिया समूह चरणबाट बाहिरिएका छन् ।

स्वीट्जरल्यान्डको जितमा जेर्डान शाकिरीले २०औं, ब्रील इम्बोलोले ४४औं र रिमो फ्रुएलरले ४८औं मिनेटमा गोल गर्नुभयो । सर्बियाका एलेक्सजेन्डर मित्रोभिचले २६औं र डुसन भ्लाहोभिचले ३५औं मिनेटमा गोल गरेपनि टोलीको हार टरेन ।

यसैगरी लुसेल आइकोनिक स्टेडियममा भएको अर्को खेलमा बलियो ब्राजिललाई हराउन क्यामरुनका भिन्सेन्ट अबुबाकरले निर्णायक गोल गर्नुभयो । क्यामरुन विश्वकपमा ब्राजिललाई हराउने पहिलो अफ्रिकन टोली समेत बनेको छ ।

भिसेन्टले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै टोलीलाई जिताउनु भएको हो । लगत्यै अबुबाकरले दोहोरो पहेँलो (रातो) कार्ड पाएपछि क्यामरुनले अन्तिममा १० खेलाडीमा खेल सकेको थियो ।

अन्तिम खेलमा अहारेपनि तीन खेलबाट ६ अंक बनाएको ब्राजिल समूहको शीर्षस्थानमा रह्यो । समान ६ अंक बनाएको स्वीट्जरल्यान्ड दोस्रो भयो ।

चार अंक बनाएको क्यामरुन तेस्रो र एक अंक बनाएको सर्बिया अन्तिममा रह्यो । यससँगै विश्वकपको नकआउट समिकरण समेत पूरा भएको छ ।

तपाईको प्रतिक्रिया