पाहुना पर्खदै मारुनी घरबास

  मंसिर १६, २०७९

गलकोट, मङ्सिर १६ : ढुङ्गाले छाएका घरले चिटिक्क मिलेको सानो गाउँ । यस गाउँमा अधिकांश मगर समुदाय । आफ्नो खेतीपाती र अर्मपर्ममा व्यस्त यहाँका महिलालाई २०७५ साल अघि घरबास (होमस्टे)को परिभाषा पत्तै थिएन ।

गाउँमा उत्पादित जैविक खानाका परिकारका स्वाद, मगर समुदायको कला संस्कृति र त्यहाँको स्थानीयको स्नेह, माया र आतिथ्यता गाउँमै सीमित थियो तर मगर समुदाय रहेको बागलुङको जैमिनी नगरपालिका–३ कालापातलमा जब मारुनी सामुदायिक घरबास स्थापना भयो त्यसपछि यहाँका महिलाको सोचमा समेत परिवर्तन आयो ।

गाउँकै परिवेशमा आफूले खाने गरेको खाना पाहुनालाई खुवाएर र आफ्नो संस्कृति देखाएर आम्दानी गर्न सकिन्छ भन्ने पाठ घरबास स्थापनापछि मात्रै महसुस गरेको घरबास सञ्चालिकाहरु बताउँछन् । जैमिनी–३ कालापातालमा २०७५ सालमा स्थापना भएको मारुनी घरबास अहिले बामे सर्दैछ । सञ्चालनको सुरुआती चरणमा रहेको मारुनी घरबासलाई कोरोनाले थला पा¥यो ।

“विसं २०७५ अघि घरबास के हो कुनै पत्तो थिएन, जब घरबासका लागि आमा समूह बनाएर एकजुट भयौँ, पाँच घरबाट घरबास सञ्चालनको सुरुआती भयो, स्थानीय पालिका, पूर्वाधार विकास कार्यालय र गण्डकी प्रदेशको सहयोगमा घरबासका लागि अत्यावश्यक सामुदायिक भवनसमेत निर्माणको अन्तिम चरणमा छ”, मारुनी घरबासका सञ्चालक समितिका अध्यक्ष भविकला थापाले भन्नुभयो, “कोरोनापछि राम्रै चलेको थियो, बर्खा लागेपछि पाहुना आउन छाडे, अहिले हामी व्यवस्थापनमै छौँ, पहुनाको पर्खाइ नै हो हाम्रो घरबासमा, निर्माणाधीन सामुदायिक भवनसमेत बजेट अभावमा सकिएको छैन ।”

थापाका अनुसार घरबासको सामुदायिक भवन निर्माणमा रु ४० लाख खर्च भइसकेको छ । नाचगान र सांस्कृतिक कार्यक्रम तथा सामूहिक भोजका लागि सामुदायिक घर अनिवार्य आवश्यक रहेको घरबास सञ्चालिका बताउँछन् । अहिले पाँच घर दर्ता गरेर सञ्चालनमा आएको घरबास पाहुनाको आवश्यकताअनुसार १२ घरसम्म विस्तार गर्न सकिने र एकै रातमा २५ जनासम्म पाहुना राख्न सकिने अध्यक्ष थापाको भनाइ छ ।

पछिल्लो समय बागलुङमा घरबास फष्टाउन थालेका छन् । कालापातलको मारुनी घरबास भर्खर प्रचारप्रसारमा आउन थालेकाले पाहुनाको सङ्ख्यामा वृद्धि अपेक्षामा कालापातलका स्थानीय रहेको रतन छन्त्यालले बताउनुभयो ।

उहाँले घरबास यो समुदायका लागि नविनतम भएपछि पछिल्लो समय पहुनाका लागि सेवा सुविधा थप्नमा स्थानीय घरबास सञ्चालक लागि परेका छन् । घरबासमा स्थानीय खानाका परिकार र कलासंस्कृतिका कारण घरबासमा आउने जो कोही पाहुना लोभिने स्थानीय भैरव छन्त्यालले जानकारी दिनुभयो ।

“यहाँका महिला समूह घरबास सञ्चालनका लागि कस्सिएका छन्, आमा समूहले नै खरिद गरेको जग्गामा सामुदायिक भवन बनाएका छन्”, छन्त्यालले भन्नुभयो, “सुरुआती चरण हो प्रचारप्रसार हुँदै जाला अहिले पाहुनाका लागि सेवा सविधा थपिने क्रम जारी छ, पाहुनाको आगमनमा वृद्धि हुनेमा हामी आशावादी छौँ ।” घरबासमा स्थानीयले संरक्षण गरिराखेको संस्कृति मारुनी नाच र सालैजोले घरबासमा आउने पाहुनालाई आकर्षित गर्ने गरेको छ ।

मारुनी सामुदायिक घरबासमा कोदोको सेल रोटी, जौको आटो, सिस्नोको परिकार, साग, गुन्द्रुक, मकै, भटमास र स्थानीय खसीबोका तथा कुखुराको मासुको परिकारको स्वाद लिन सकिने घरबास सञ्चालनक बताउँछन् ।

गण्डकी प्रदेश सरकारले घरबास प्रवद्र्धनका लागि दिएको रु १० लाख, नगरपालिकाको रु एक लाख ५० हजार, पूर्वाधार विकास कार्यालय र निर्वतमान गण्डकी प्रदेशसभा सदस्य सावित्रा रानाको संसद् विकास कोषको गरी रु ४० लाखको लागतमा पक्की दुईतले सामुदायिक भवन निर्माण अन्तिम चरणमा पुगेको छ । भवन निर्माणलाई सार्थकता दिन अझै रु १० लाख बजेटको आवश्यकता पर्ने घरबास सञ्चालक समितिका अध्यक्ष थापाको भनाइ छ ।

घरबासको प्रचारप्रसार, घरबास सञ्चालकलाई तालिमको व्यवस्था र घरबासलाई पाहुनामैत्री बनाउन सकेमा स्थानीय महिलाको आयआर्जन वृद्धिसँगै घरबास पर्यटन फष्टाउनेमा स्थानीय घरबास सञ्चालक आशावादीमा छन् ।

तपाईको प्रतिक्रिया