बजेटमा समावेश कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन

  मंसिर १६, २०७९

काठमाडौँ, मङ्सिर १६ : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिएका कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

मन्त्रालयद्वारा आज अयोजित ‘आर्थिक वर्ष २०७९//८० को प्रथम त्रैमासिक समीक्षा’ बैठकमा उहाँले सरकारको लक्ष्य र जनअपेक्षालाई सम्बोधन गर्ने गरी लक्षित कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो ।

सचिव अर्यालले भन्नुभयो, “यो प्रथम त्रैमासिकको रिपोर्ट हेर्दा उद्देश्यअनुरुप काम भएको छैन, काम हुँदै गरेको भन्ने मात्रै आयो, काम सकिएको भन्ने आएन, अब नीति तथा कार्यक्रमले लिएको लक्ष्य समयमै हासिल गर्ने गरी प्रतिफल आउने गरी काम गरौँ ।”

उहाँले जे गर्छु भनेको हो त्यो समयमै सक्न र गर्छु भनेकोबाहेक अन्य काम गरेको भए मन्त्रालयलाई जानकारी गराउन पनि निर्देशन दिनुभयो । उहाँले सरकारी सेवामा छिटो र छरितोपना ल्याउनका लागि कार्यालयलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो ।

सहसचिव उत्तरकुमार खत्रीले अब नयाँ सरकार गठन भएसँगै तत्काल जनताको निम्ति सेवा सुविधाबारे योजना बनाउन निर्देशन दिनुभयो । राष्ट्रिय समाचार समिति (रासस) का महाप्रबन्धक सिद्धराज राईले पछिल्लो समयमा राससले आफ्नो सेवा विस्तारसँगै ग्राहक सङ्ख्यामा वृद्धि गर्दै लगेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “राससले अहिले रु ५२ लाख बक्यौता रकम उठाएको छ, सरकारका विषयवस्तुसँगै जनताका विषयवस्तुलाई गुणस्तरीय समाचारको रुपमा सम्प्रेषण गरेको छ, भिडियो सेवा सुरु गरेदेखि राससप्रति ग्राहकको चासो पनि बढेको छ, ग्राहकको सङ्ख्या अहिले तीन सयबाट पाँच सय पुगेको छ ।”

उहाँले आगामी दिनमा राससको सेवालाई २४ घण्टे सेवाको रुपमा अगाडि बढाउनुका साथै एक हजारसम्म ग्राहक सङ्ख्या पु¥याउने योजनासमेत सुनाउनुभयो ।

समीक्षा बैठकमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, गोरखापत्र संस्थानका अध्यक्ष विष्णु सुवेदी र विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईलगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया