पर्वतमा मगर सङ्ग्रहालय निर्माण गरिँदै

  मंसिर १६, २०७९

पर्वत, मङ्सिर १६: मगर समुदायको कला संस्कृति र ऐतिहासिक परम्परालाई संरक्षण गर्नका लागि पर्वतमा मगर सङ्ग्रहालय निर्माण गर्न थालिएको छ ।

पुन युवा क्लबको अगुवाईमा जिल्ला कुश्मास्थित दुर्लुङचोक नजिकै मध्यपहाडी राजमार्गको आडैमा सङ्ग्रहालय बनाउन सुरु गरिएको हो । सङ्ग्रहालय भवनको बुधबार कुश्मा नगर प्रमुख रामचन्द्र जोशीले शिलान्यास गर्नुभएको छ ।

सङ्ग्रहालय निर्माण गर्नका लागि क्लबले अघिल्ला दुई वर्ष लगातार दुई पटकसम्म मगर महोत्सवको आयोजना गरेको छ भने यस पटकको तिहारमा देउसी भैलो खेलेर रकम सङ्कलन गरेको छ । सोही रकम र बाँकी विभिन्न सहयोग दाताबाट सङ्कलन गरेर झण्डै रु एक करोडको लागतमा निर्माण गरिने युवा क्लबका अध्यक्ष कृष्ण पुनले जानकारी दिनुभयो ।

मगर जातीको कला, कौशल, प्रवद्र्धनलगायत कुरामा नेतृत्वदायी भूमिका खेल्दै आएको पुन क्लबले आफूसँग भएको बजेटबाट भवन निर्माणको काम सुरु गरेको क्लबका अध्यक्ष पुनले बताउनुभयो ।

मगर समुदायलगायत अन्य जनजातिका ऐतिहासिक तथा पुरातात्विक वस्तुको नमूना सङ्कलन, ऐतिहासिक पाठ्यपुस्तक, धर्म संस्कृति र भाषाको संरक्षण, कला संस्कृति, रीतिरिवाज तथा चालचलन, मगर समुदायका खानाका परिकारलगायत सबैखाले विषयलाई सङ्ग्रालयमा समेटिने जनाइएको छ ।

सबै जातजातिका भाषा, वेषभूषा, उनीहरूले प्रयोग गर्ने सामग्री, दैनिकी झल्किने चित्रलगायतका वस्तु राख्ने गरीसमेत तयारी गरिइ एको छ ।

रु २५ लाखबाट निर्माण गर्न थालिएको र काम सुरु गरेपछि विस्तारै सहयोग प्राप्त हुने क्लबले जनाएको छ । कुश्मा नगर प्रमुख जोशीले मगर समुदायका नेतृत्वमा सङ्ग्रहालय बन्ने भए पनि सबै जातजातिका पुरातात्विक महत्व बोकेका बस्तु रहने बताउनुभयो ।

उपप्रमुख स्वस्थानी रिजालले ऐतिहासिक महत्वका वस्तुको संरक्षणमा सङ्ग्रहालय महत्वपूर्ण हुने बताउनुभयो । यही मितिमा निर्माणको पूरा हुन्छ भन्ने यकिन नभएको भवन निर्माण समितिका संयोजक गुमबहादुर पुनले बताउनुभयो । रकम अभाव हुन नदिन सरकारी निकायमा पहल गर्नेदेखि आफूहरूले फेरि पनि देउसी भैलो तथा मगर महोत्सवलाई निरन्तरता दिने उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया