गुणस्तरहीन काम ११ जनाविरुद्ध मुद्दा दायर

  मंसिर १६, २०७९

काठमाडौँ, मङ्सिर १६ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तरहीन काम गर्ने ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । राज्यको स्रोत तथा साधनको दुरुपयोग गरेको आरोपमा सर्लाहीको चक्रघट्टा गाउँपालिकाका तत्कालीन गाउँपालिका अध्यक्षसहित ११ जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।

चक्रघट्टा गाउँपालिकाका–४ सुन्दरपुरस्थित बहिदको जग्गादेखि ढुङ्ग्राखोलासम्म पक्की नाला निर्माण गर्ने कार्यमा गुणस्तरहीन काम गरेको अभियोगका गाउँपालिकाका अध्यक्ष विक्रम यादव, निमित्त प्रमुख प्रशासकीय अधिकृत मुकेशकुमार पाठक, इञ्जिनीयर अजय यादव र लेखापाल शिवशङ्करप्रसाद कुसवाहविरुद्ध रु तीन लाख ४१ हजार पाँच सय ४४ बराबरको बिगो दाबी गरिएको आयोगले जनाएको छ ।

सोही गाउँपालिका–४ का वडाध्यक्ष अब्दुल अहद कवारी, गाउँ कार्यपालिका सदस्य विजयकुमार चौधरी र विनोद साह, इञ्जिनीयर अजय यादव र सवइञ्जिनीयर जीतेन्द्र यादवविरुद्ध भ्रष्टाचार निवारण ऐनबमोजिम कारवाहीको माग गरिएको छ ।

आयोगले उपभोक्ता समितिका अध्यक्ष शेख मोहम्मद इरफान अलि, कोषाध्यक्ष हजरा खातुन र सचिव मोहम्मद इरफानविरुद्ध रु तीन लाख ४१ हजार पाँच सय ४४ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया