दोलखामा शान्तिपूर्ण पुनः मतदान, ५० प्रतिशत मत खस्यो, मतगणना सुरू

  मंसिर १५, २०७९

दोलखा, मङसिर १५ : दोलखाका १० मतदान केन्द्रमा आज भएको पुनः मतदान शान्तिपूर्ण रूपले सम्पन्न भएको छ । आजको निर्वाचनमा करिब ५० प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यहाँका चार वटा मतदान स्थलका १० वटा मतदान केन्द्रमा रहेका आठ हजार ५१६ मतदातामध्ये चार हजार ३०१ मत खसेको छ ।

तामाकोसी गाउँपालिका –३ हेल्थ पोस्ट केन्द्रमा एक हजार ४४३ मध्ये ८३०, वैतेश्वर गाउँपालिका –३ जनज्योति माध्यमिक विद्यालय केन्द्रमा दुई हजार ६६५ मध्ये एक हजार ३०२, वडा नम्बर २ कालिढुङगा मावि केन्द्रमा एक हजार ९३६ मध्ये ९३५ र वडा ६ को वैतेश्वर मावि केन्द्रमा दुई हजार ४७२ मध्ये एक हजार २३४ मत खसेको छ ।

मतपेटिका सङ्कलन भएलगत्तै सर्वदलीय बैठक बोलाई मत गणना थालिने मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो ।

दोलखामा मतगणना सुरू
दोलखामा प्रतिनिधिसभा सदस्यका लागि अहिले ९ बजेबाट मतगणना सुरू भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार दोलखाको गौरीशङ्कर क्याम्पसमा ९ बजे मतगणना सुरू भएको हो । आज प्रतिनिधिसभा सदस्यको मतगणना सुरू हुने र भोलिबाट प्रदेशसभा सदस्यको पनि मतगणना गर्न सुरू गरिने जनाइएको छ ।

दोलखामा प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का गङ्गा कार्की, नेकपा (एमाले) बाट बालकृष्ण शिवाकोटीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

दोलखाको १० मतदान केन्द्रमा आज पुनः मतदान भएको थियोे भने जिल्लाको बाँकी स्थानमा यही मङ्सिर ४ गते मतदान सम्पन्न भएको थियो । प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको दोलखामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेको यस क्षेत्रमा १४ राजनीतिक दल र सात स्वतन्त्र गरी २१ उम्मेदवार रहेका छन् ।

तपाईको प्रतिक्रिया