भौतिक विकासमा साझेदारी सम्झौता बन्दै दुई नगरपालिका

  मंसिर १५, २०७९

सर्लाही, मङ्सिर १५ : सर्लाहीको बागमती र हरिवन नगरपालिकाबीच नगरका विकास निर्माण कार्यमा सहयोग गर्ने सम्झौता भएको छ । दुवै नगरपालिकाका नगरप्रमुखबीच नगरका विकास निर्माणका काममा साझेदारी गरी अगाडि बढ्ने सम्झौता भएको हो ।

बागमती नगरपालिका वडा नम्बर ४ र १२ मा निर्माणाधीन बागमती माछा तालबाट उत्खनन हुने ढुङ्गा, गिटी, बालुवा हरिवन नगरपालिकालाई उपलब्ध गराउने सम्झौता गरिएको बागमती नगरपालिका नगरप्रमुख भरतकुमार थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपालको संविधान २०७२ अनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को अधिनमा रही नगरसभा र नगर कार्यपालिकाद्वारा निर्मित कानूनहरू तथा सोसँग सम्बन्धित निर्णयहरू अनुसार बागमती–४ र १२ मा निर्माणाधीन बागमती माछा तालबाट उत्खनन हुने ढुङ्गा, गिट्टी र बालुवा उपलब्ध गराउने, प्रथम पक्षले दोस्रो पक्षलाई निर्माणाधीन बागमती माछा पोखरीबाट उत्खनन् हुने ढुङ्गा, गिट्टी र बालुवा ७५ हजार घन मिटर अर्थात ६२ हजार दुई सय ५० टिपर ग्राबेल विना कर उपलब्ध गराउने लगायतका बुँदामा सम्झौता गरिएको हो ।

दोस्रो पक्षले ढुङ्गा, गिट्टी र बालुवा आफैँ उत्खनन गरी लानुपर्ने, उत्खनन गर्दा बागमती नगरपालिकाको सम्बन्धित प्राविधिकसँग समन्वय गर्नुपर्ने, उत्खनन पश्चात प्राविधिकले तोकिएबमोजिम लेभलिङ पनि गरिदिनुपर्ने, उत्खनन गरी लगेको सामग्री दोस्रो पक्षको आयोजनमा उपयोग गर्ने, सम्झौतामा तोकिएबमोजिमको परिमाण दोस्रो पक्षले सम्झौता भएको मितिले छ महिनाभित्र सक्नुपर्ने, उत्खनन सामग्री लैजाँदा प्रचलित मापदण्ड प्रयोग गरी ढुवानीको साधन प्रयोग गर्नुपर्ने र सम्झौतामा कुनै बाधा अड्चन भए आपसी सहमतिको आधारमा परिवर्तन गर्न सकिनेलगायतका बुँदामा सम्झौता गरिएको हरिवन नगरपालिका नगरप्रमुख रमेश बुढाथोकीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया