गुजरात निर्वाचन : अपरान्ह ३ बजेसम्म करिब ५० प्रतिशत मतदान

  मंसिर १५, २०७९

गान्धीनगर, गुजरात, कात्तिक १५ : गुजरात राज्यको विधानसभाका लागि भएको निर्वाचनको पहिलो चरणको मतदान बिहीबार सम्पन्न भएको छ ।

अपराह्न ३ बजेसम्म झण्डै ५० प्रतिशतको हाराहारी अर्थात् कूल ४८.४८ प्रतिशत मतदाताले मतदान गरेका छन् । कच्छ, सौराष्ट्र र दक्षिण गुजरातका १९ जिल्लाका ८९ निर्वाचन क्षेत्रमा बिहीबार बिहान ८ बजेदेखि मतदान सुरु भएको थियो ।

निर्वाचन आयोगका अनुसार दिउँसो ३ बजेसम्मको तथ्याङ्कअनुसार तापीमा सबैभन्दा बढी ६४।२७ प्रतिशत मतदान भएको छ भने नर्मदामा ६३.८८ प्रतिशत मतदान भएको छ भने जामनगरमा सबैभन्दा कम ४२.२६ प्रतिशत मतदान भएको छ ।

यहाँ बिहीबार कूल दुई करोड ३९ लाख ७६ हजार ६७० मतदाता साँझ ५ बजेसम्म मतदान गर्नेछन् र पहिलो चरणको निर्वाचनमा ७ सय ८८ उम्मेदवारको भाग्यको फैसला गर्नेछन् ।

गुजरातका कूल मतदातामध्ये एक करोड २४ लाख ३३ हजार ३६२ पुरुष, एक करोड १५ लाख ४२ हजार ८११ महिला र ४९७ तेस्रो लिंगी रहेका छन् ।

मतदानका लागि ८० बर्षभन्दा बढी उमेर समूहका करिब नौ लाख ८० हजार नागरिक सहभागी हुनसक्नेछन् भने १०० बर्षभन्दा बढीका करिब १० हजार मतदाता रहेका बताइएको छ । आयोगका अनुसार १८ देखि १९ वर्ष उमेर समूहका पाँच लाख ७४ हजार ५६० मतदाता छन् भने ९९ वर्षमाथिका चार हजार ९४५ मतदाता छन् ।

यहाँ १६३ जना गैर–आवासीय भारतीय मतदाता छन्, जसमध्ये १२५ पुरुष र ३८ महिला छन् ।

कूल १४ हजार ३८२ मतदान केन्द्रमध्ये शहरी क्षेत्रमा तीन हजार ३११ र ग्रामीण क्षेत्रमा ११ हजार ७१ मतदान केन्द्र रहेका छन् ।

यहाँका प्रमुख दलका प्रभावशाली नेतामध्ये गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले घाटलोडियाबाट, आपका मुख्यमन्त्रीका उम्मेदवार इसुदन गढवी खम्भलियाबाट, पूर्व काङ्ग्रेस नेता तथा भाजपाका हार्दिक पटेल विरमगामबाट प्रतिस्पर्धा गरिरहनुभएको छ भने पूर्व काङ्ग्रेस नेता तथा भाजपाका उम्मेदवार अल्पेश ठाकोर गान्धीनगर दक्षिणबाट चुनावी मैदानमा उत्रिनुभएको छ ।

गुजरातमा दोस्रो चरणको निर्वाचन डिसेम्बर ५ मा हुँदैछ । मतगणनाको नतिजा ८ डिसेम्बरमा घोषणा गरिने बताइएको छ । हिमाचल प्रदेश विधानसभाका लागि यस पहिले नै भएको चुनावी परिणाम पनि सोही दिन घोषणा गरिने निर्वाचन आयोगले बताएको छ ।

तपाईको प्रतिक्रिया