युवती हत्या प्रकरण : घटनामा संलग्नको खोजी तीव्र

  मंसिर १५, २०७९

सुदूरपश्चिम, मङ्सिर १५ : बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडा गाउँकी २१ वर्षीया माया लुहारको हत्या घटनामा संलग्न व्यक्तिको खोजी तीव्र पारिएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक मोहनकुमार आचार्यले घटनामा संलग्नलाई पक्राउ गर्न व्यापकरूपमा प्रहरी परिचालन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “मान्छेको पहिचान भइसकेको छ, पक्राउ गर्न व्यापकरूपमा प्रहरी परिचालन गरिएको छ ।”

घटनामा संलग्न व्यक्तिले प्रेमिका भनिएकी मायाको घाँटी रेटेपछि उनीसँगै रहेकी नेहा लुहारलाई पनि लखेट्दै धारिलो हतियार प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको नायब प्रहरी महानिरीक्षक आचार्यले बताउनुभयो ।

बुधबार दिउँसो शिवनाथ गाउँपालिका–६ शिवनाथ मन्दिर नजिकै घाँटी रेटेर हत्या गरेको अवस्थामा माया लुहारको शव फेला परेको थियो । यस्तै सोही ठाउँकी १५ वर्षीया नेहा लुहार घाँटीको रुद्रघण्टीभन्दा माथि धारिलो हतियार प्रयोग गरेर गम्भीर घाइते अवस्थामा भेटिएकी छन् ।

नेहालाई घाँटीमा धारिलो हतियार प्रहार भएर रक्ताम्य अवस्थामा पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सीमास्थित बालाडाँडामा फेला पारिएको थियो । उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

माया र नेहा मङ्गलबार घरबाट लुगा सिउन भनी पञ्चेश्वरकै कुँलाउ भन्ने स्थानमा हिँडेका र बुधबारसम्म पनि घर नफर्केपछि घरपरिवार र प्रहरीले खोजतलास गरेको थियो । खोजतलास गर्दै जाँदा बुधबार माया मृतावस्थामा र नेहा गम्भीर घाइते अवस्थामा भेटिएकी हुन् ।

घटनाको सूक्ष्मरूपमा अनुसन्धानका लागि बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाही नेतृत्वको टोली घटनास्थलमै रहेको छ । हत्या घटनामा शिवनाथकै सशस्त्र प्रहरीका एक जवान संलग्न रहेको जनाइएको छ ।

उनी फरार रहेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताउनुभयो । उहाँले भन्नुभयो, “माया र ती सशस्त्रका जवानको पहिलादेखि नै फोन सम्पर्क भइराख्ने भन्ने कुरा सुनिन आएको छ, ती अहिले फरार रहेका छन् ।”

माया हालै सम्पन्न निर्वाचनमा म्यादी प्रहरीसमेत रहेको बताइएको छ । सशस्त्रका ती जवानले केही समयअघि मायाको मोबाइल नियन्त्रणमा राखेका थिए । मोबाइल लिन भनेर मायालाई बोलाएको र त्यही हत्या गरिएको प्रहरीको शङ्का छ । दुवै जना प्रेमसम्बन्धमा रहेको र कुरा नमिलेपछि हत्याको घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

घटनास्थल रक्ताम्य अवस्थामा रहेको र चक्कुसमेत फेला परेको प्रहरी नायब उपरीक्षक शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “घटनामा संलग्न व्यक्तिको खोजीका लागि भारतीय सीमाक्षेत्र र सुदूरपश्चिमका सबै प्रहरी युनिटलाई सक्रिय पारिएको छ ।”

मायाको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । परीक्षण रिपोर्ट भने आउन बाँकी छ । बलात्कारपछि हत्या भए-नभएको बारे परीक्षण रिपोर्ट आएपछि मात्रै थाहा हुने जनाइएको छ । शव र घटनास्थलको प्रकृति हेर्दा भने बलात्कारको शङ्का गर्न नसकिने प्रहरीको दाबी छ ।

तपाईको प्रतिक्रिया