एकै घरका दुई दाजुभाई प्रदेशसभा सदस्यमा निर्वाचित

  मंसिर १३, २०७९

रामपुर (पाल्पा), मङ्सिर १३ : एकै घरका दुई दाजुभाइ लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

पाल्पा रामपुर नगरपालिकाका भोजप्रसाद श्रेष्ठ र राजुप्रसाद श्रेष्ठ लुम्बिनी प्रदेश प्रदेशसभा सदस्यको निर्वाचनमा नेकपा (एमाले)बाट निर्वाचित हुनुभएको हो ।

पाल्पा निर्वाचन क्षेत्र नं १ (१) को प्रदेशसभा सदस्यमा राजुप्रसाद श्रेष्ठ (भाइ) र रुपन्देही निर्वाचन क्षेत्र नं २ (२) बाट भोजप्रसाद श्रेष्ठ (दाजु) निर्वाचित हुनुभएको छ । भोजप्रसाद लामो समयदेखि रुपन्देहीमा रहेर राजनीतिक क्षेत्रमा अगाडि बढ्नुभएको छ भने राजुप्रसादले रामपुरमै रहेर राजनीति गर्ने क्रममा यस पटक प्रदेशसभा सदस्यमा जित हासिल गर्नुभएको छ ।

राजुप्रसाद प्रतिस्पर्धी नेपाली कांग्रेसका श्यामकान्त खनाललाई पछि पार्दै १७ हजार छ सय ४२ मत प्राप्त गरी प्रदेशसभा सदस्य बन्नुभएको छ । प्रतिस्पर्धी खनालले १२ हजार दुई सय ५२ मत प्राप्त गर्नुभएको छ । भोजप्रसाद २०७४ मा एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

उहाँ केही समय लुम्बिनी प्रदेश सरकारको मन्त्रीमा समेत रहेर काम गर्नुभयो । नेकपा (माओवादी केन्द्र)का उम्मेदवार वामदेव घिमिरे क्षेत्रीलाई पछि पार्दै प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

कूल खसेको मतमध्ये १६ हजार तीन सय मतसहित विजयी बन्नुभएको हो । प्रतिस्पर्धी घिमिरेले नौ हजार चार सय १० मत पाउनुभएको छ । स्व पिता लोकप्रसाद श्रेष्ठ र माता शेषकुमारी श्रेष्ठका भोजप्रसाद साहिलो र राजप्रसाद कान्छो सन्तान हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया