पत्रकार महासङ्घको केन्द्रीय साधारणसभाको तयारी सुर्खेतमा हुँदै

  मंसिर १२, २०७९

कर्णाली, मङ्सिर १२ : नेपाल पत्रकार महासङ्घको पुसको पहिलो साता सुर्खेतमा हुने केन्द्रीय साधारणसभाको तयारी थालिएको छ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा सुर्खेतले आज एक प्रेस विज्ञप्ति जारी गर्दै पुस ८ र ९ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा केन्द्रीय साधारणसभा गर्ने महासङ्घको निर्णयलाई स्वागत गरेको छ । शाखाले उक्त साधारणसभाको सम्पन्न गर्न आठवटा उपसमिति गठन गरेको छ ।

महासङ्घका अध्यक्ष ललित बसेलको अध्यक्षतामा आज बसेको बैठकले साधारणसभा सफल बनाउन आवास तथा व्यवस्थापन, मञ्च व्यवस्थापन, अतिथि सत्कार, प्रचार, प्रकाशन, सांस्कृतिक, आर्थिक र पर्यटन उपसमिति गठन गरेको छ । अध्यक्ष बसेलका अनुसार समितिमा रहेका सातजना पदाधिकारीको संयोजकत्वमा उपसमितिहरू गठन गरिएका छन् ।

अध्यक्ष बसेलले कर्णालीमा हालसम्म कुनै पनि केन्द्रीयस्तरका कार्यक्रम हुन नसकिरहेको बेला महासङ्घको केन्द्रीय साधारणसभा राजधानी वीरेन्द्रनगरमा हुनु गौरवको विषय भएको बताउनुभयो ।

मुलुकको समग्र क्षेत्रको खबरदारी गर्ने महासङ्घको यस कार्यक्रमले यहाँको विकास र समृद्धिमा पनि सहयोग पुग्ने उहाँले जनाउनुभयो । कार्यक्रममा देशविदेशका गरी करिब छ सय पत्रकार सहभागी हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया