हिंसाविरुद्धको संयुक्त राष्ट्रसंघ दिवसको पूर्वसन्ध्यामा अफगानमहिलाद्वारा प्रदर्शन

  मंसिर ०८, २०७९

काबुल, मङ्सिर ८ : संयुक्त राष्ट्रसङ्घको महिला हिंसा उन्मूलन दिवसको पूर्वसन्ध्यामा एक दर्जनभन्दा बढी अफगानी महिलाले आफ्नो अधिकारलाई मान्यता दिन माग गर्दै बिहीबार काबुलमा प्रदर्शन गरेका छन् । अन्तर्राष्ट्रिय महिला हिंसा उन्मूलन दिवस हरेक वर्ष नोभेम्बर २५ का दिन मनाइन्छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार अफगानिस्तानमा महिला तथा बालिकाविरुद्ध हुने हिंसा र विश्वमा सबैभन्दा व्यापक रूपमा मानव अधिकार उल्लङ्घनको रूपमा रहेका छन् । महिलाविरूद्धको हिंसाले अफगानिस्तानको तीनमध्ये एक महिलालाई प्रभावित गरेको छ ।

गत वर्षको अगष्टमा तालिवान सत्तामा फर्किएपछि अफगानी महिलाहरू सार्वजनिक अधिकारबाट वञ्चित भएका छन् । यसको विरोधमा साना समूहहरूले आकस्मिक रूपमा गरेका विरोध प्रदर्शनले कहिलेकाहीं हिंस्रक रूप लिएपनि प्रायःजसो तिनीहरू तुरुन्तै बन्द हुनेगरेका छन् ।

एक प्रदर्शनकारीले बोकेका दारी भाषामा लेखिएको प्लेकार्डमा लेखिएको छ, “हामी (अफगानी महिला) अन्त्यसम्म आफ्नो अधिकारका लागि लड्नेछौं र आत्मसमर्पण गर्ने छैनौं । उनीहरूले ‘महिला, जीवन र ऐक्यबद्धता’ को नारा लगाएका थिए ।

समूहका अधिकांश सदस्यले गाढा कालो चश्मा लगाएका थिए, टाउको बुर्काले ढाकेका थिए र सर्जिकल मास्कले अनुहार छोपेका थिए । तालिवान लडाकूहरूले कारबाहीलाई नजिकबाट नियालिरहेका थिए भने गुप्तचर सेवाका अधिकारीहरू बोकेका कारहरूले छिमेकलाई घेरेका थिए ।

आयोजकका अनुसार तालिबान प्रशासनले तीन जना प्रदर्शनकारीलाई केही समयका लागि हिरासतमा लिएको र उनीहरूलाई ‘अपमानित र दुरूत्साहित’ गरेका छन् ।

“तालिबान महिलाहरूको गतिविधिबाट निकै डराउँदछ, त्यसैले उनीहरूले महिलाहरूलाई पक्राउ गरेर र जेलमा राखेर घरमा बस्न डराउने प्रयास गर्छन्,” नाम नबताउने शर्तमा एक आयोजकले एएफपीलाई बताए ।

“तालिबानको शासनकालमा अफगानी महिलालाई पुरूषसरह मान्यता दिइएको छैन । आज, महिलाहरू काममा जान, अध्ययन गर्न वा सजिलै अन्य क्रियाकलाप गर्न पनि सक्दैनन् ।

तालिबान सत्तामा फर्केपछि अधिकांश महिला सरकारी कर्मचारीले आफ्नो रोजगारी गुमाइसकेका छन् वा उनीहरूलाई घरमै बस्नका लागि थोरै रकम दिइएको छ । महिलालाई पुरुष नातेदारबिना यात्रा गर्न निषेध गरिएको छ र घरबाहिर निस्कँदा बुर्का वा हिजाबले छोप्नुपर्छ ।

यसै महिना तालिबानले महिलाहरूलाई पार्क, फनफेयर, जिम र सार्वजनिक स्नानमा प्रवेश गर्न प्रतिबन्ध लगाएको थियो ।

देशका अधिकांश भागमा किशोरीका लागि बनाइएका विद्यालय पनि बन्द गरिएका छन् । बुधबार मध्य प्रान्त उरुज्गानका दूरसञ्चार अधिकारीहरूले महिलाहरूलाई अब मोबाइल फोनको सिमकार्ड किन्न अनुमति नदिइएको बताएका थिए ।

तपाईको प्रतिक्रिया