विरोध खतिवडालाई हराउँदै बर्तौला निर्वाचित

  मंसिर ०८, २०७९

हेटौँडा, मङ्सिर ८ : मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा लोकतान्त्रिक बाम गठबन्धनबाट उम्मेदवार बन्नुभएका विरोध खतिवडालाई पराजित गर्दै नेकपा (एमाले) का महेश बर्तौला निर्वाचित बन्नुभएको छ ।

एमालेका उम्मेदवार बर्तौलाले ३४ हजार ९१६ मत प्राप्त गर्दा खतिवडाले ३० हजार ३९६ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले १२ हजार ३९ मत प्राप्त गर्नुभएको छ ।

यसअघिका २०४८ सालदेखि चार पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित खतिवडालाई पाँचौँ पटकमा आफ्नै पूर्व कार्यकर्ता बर्तौलाले पाँचौँ पटकको जितलाई रोक्नुभएको हो । खतिवडा २०६४ र २०७० को संविधान सभा सदस्य निर्वाचनमा भने उम्मेदवार बन्नुभएको थिएन ।

२०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित खतिवडालाई विजयी बनाउन बर्तौलाको महत्त्वपूर्ण साथ रहेको थियो । तर एमाले विभाजनपछि खतिवडाले नेकपा एकीकृत समाजवादी रोज्दै मन्त्रीसमेत बन्नुभएको थियो ।

बर्तौला विद्यार्थी राजनीति छाडेसँगै एमाले बागमती प्रदेशको उपमहासचिव बन्नुभएको थियो । यो क्षेत्र एकीकृत समाजवादीको कम प्रभाव भएको क्षेत्रसमेत हो । यस क्षेत्रमा ८६ हजार ३०१ मत खसेकोमा चार हजार १०२ मत बदर भएको छ ।

तपाईको प्रतिक्रिया