कांग्रेस नेता थापाको संविधानसभापछि प्रदेशको यात्रा

  मंसिर ०७, २०७९

कञ्चनपुर, मङ्सिर ७ : नेपाली कांग्रेसका त्यागी नेताका रूपमा परिचित ५२ वर्षीय बहादुर सिंह थापा प्रदेशसभा सदस्य निर्वाचनमा विजयी हुनुभएको छ ।

निर्वाचन क्षेत्र नं २ (२) बाट लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवारका रूपमा मैदानमा उत्रिनुभएका थापा निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का कृपाराम रानालाई एक हजार सात सय २६ मतको अन्तरले हराउँदै विजयी हुनुभएको हो ।

थापाले १० हजार छ सय ६८ मत ल्याउनुभएको छ । निकटम प्रतिद्वन्द्वी रानाले आठ हजार नौ सय ४२ मत ल्याउनुभएको छ । निर्वाचनमा विजयी भएका थापा नेपाली कांग्रेस कञ्चनपुरका पूर्वसभापति हुनुहुन्छ ।

थापाले नेपाली कांग्रेस कञ्चनपुरको १२औँ र १३औँ महाधिवेशनबाट दुई कार्यकाल सभापति भएर काम गर्नुभएको छ । निर्वाचनमा विजयी हुनुभएका थापा र पराजित राना दुवै जना पूर्वसंविधानसभा सदस्य हुनुहुन्छ ।

कांग्रेस नेता थापा यसअघि विसं २०७० मा संविधानसभा सदस्य र त्यसपछि उहाँ प्रदेशसभा निर्वाचन २०७४ मा नेकपा (एमाले–माओवादी) गठबन्धनका उम्मेदवार लालबहादुर खड्कासँग पराजित हुनुभएको थियो ।

खड्का अहिले नेकपा (एकीकृत समाजवादी) का तर्फबाट प्रदेशसभामा उम्मेदवार भएर चुनावी मैदानमा रहे पनि उहाँले पराजय भोग्नुपरेको छ । “थापालाई पार्टीमा त्यागी, शान्त, इमान्दार छवि भएका नेताका रूपमा लिने गरिएको छ”, नेपाली कांग्रेसका क्षेत्रीय सभापति करनसिंह ऐरले भन्नुभयो, “उहाँ अहिलेसम्म अविवाहित हुनुहुन्छ ।”

जीवनका ऊर्जावान समय थापाले पार्टीका लागि खर्चिएको उहाँको भनाइ छ । विद्यार्थी जीवनदेखि अहिलेसम्म निरन्तररूपमा पार्टीका लागि थापाले कार्य गर्दै आउनुभएको छ । विजयी हुनुभएका थापाले मतदाताले विश्वास गरेर विजयी बनाएकाले जनता र प्रदेशको हितमा कार्य गर्ने बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया