कर्णालीका सात ठाउँको अन्तिम परिणाम सार्वजनिक

  मंसिर ०७, २०७९

सुर्खेत (भेरीगङ्गा), मङ्सिर ७ : कर्णाली प्रदेशभर अहिलेसम्म प्रदेशसभातर्फको ६ र प्रतिनिधिसभातर्फ एक ठाउँको अन्तिम मतपरिमाण सार्वजनिक भएको छ ।

पाँच ठाउँमा सत्ता गठबन्धन तथा नेकपा (एमाले) र स्वतन्त्र एक-एक ठाउँमा विजयी भएका छन् । सुर्खेत निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका हृदयराम थानी विजयी हुनुभएको छ । उहाँले नेकपा (एमाले)का अमृत विसीलाई पराजित गर्नुभएको हो ।

यस्तै दैलेख क्षेत्र नं १ प्रदेश (१) मा प्रदेशसभा सदस्यमा कांग्रेसका पूर्णबहादुर खत्री विजयी हुनुभएको छ । उहाँले एमालेका धर्मराज रेग्मीलाई एक हजार तीन सय ९२ मतान्तरले पराजित गर्नुभएको हो । खत्रीले नौ हजार चार सय ६४ तथा रेग्मीले आठ हजार ७२ मत प्राप्त गर्नुभयो ।

जाजरकोट प्रदेशसभा (१) मा कांग्रेसका वेदराज सिंह विजयी हुनुभएको छ । उहाँले १८ हजार पाँच सय ४३ मत प्राप्त गर्नुभयो । सिंहका निकटतम प्रतिद्वन्द्वी एमालेका डम्बरबहादुर सिंहले १२ हजार चार सय ७० मत प्राप्त गर्नुभयो ।

जाजरकोटको प्रदेशसभा (२) बाट कांग्रेसका राजिवविक्रम शाह निर्वाचित हुनुभएको छ । उहाँ १६ हजार ४० मतसहित निर्वाचित हुनुभएको हो । शाहले एमालेका खिमबहादुर शाहीलाई पाँच हजार पाँच सय १० मतान्तरले पछि पार्नुभयो । एमालेका शाहीले १० हजार पाँच सय ३० मत पाउनुभयो ।

यस्तै दैलेख निर्वाचन क्षेत्र नं २ प्रदेशसभा (१) मा कांग्रेसका घनश्याम भण्डारी विजयी हुनुभएको छ । भण्डारीले एमालेका तिलकप्रसाद रिजाललाई एक हजार तीन सय पाँच मतले हराउनुभएको हो । भण्डारीले १० हजार आठ सय मत प्राप्त गर्नुभयो । एमालेका रिजालले नौ हजार चार सय ९५ मत प्राप्त गर्नुभएयो ।

जुम्ला प्रदेशसभा–१ मा सत्ता गठबन्धनबाट कांग्रेसका देवेन्द्रबहादुर शाही विजयी हुुनुभएको छ । उहाँले स्वतन्त्र उम्मेदवार ललितजङ्ग शाहीलाई एक हजार आठ सय ९९ मतले हराउनुभएको हो । कांग्रेसका शाहीले नौ हजार छ सय ५४ मत तथा स्वतन्त्र उम्मेदवार शाहीले सात हजार सात सय ५५ मत पाउनुभयो ।

यस्तै जुम्ला प्रदेशसभा (२) मा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका पद्मबहादुर रोकायलाई हराउँदै एमालेका टेकराज पछाई विजयी हुनुभएको छ । पछाई सात हजार आठ १५ मतले विजयी हुनुभएको हो । रोकायले छ हजार सात सय २२ मत ल्याउनुभयो ।

तपाईको प्रतिक्रिया