प्रधानमन्त्री देउवा डडेल्धुराबाट सातौँपटक विजयी

  मंसिर ०७, २०७९

डडेल्धुरा, मङ्सिर ७ : डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जित हासिल गर्नुभएको छ । योसँगै उहाँ यही जिल्लाबाट प्रतिनिधिसभाका लागि सातौँपटक विजयी हुनुभएको हो ।

कुल ५१ हजार दुई सय तीन मतमा कांग्रेस सभापति देउवाले २५ हजार पाँच सय ३४ मत प्राप्त गरी विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिनुभयो । उहाँका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत प्राप्त गर्नुभएको छ । अर्का उम्मेदवार नेपाली कांग्रेस (विपी)का कर्णबहादुर मल्लले सात हजार पाँच सय ३५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचनको कार्यालयले जनाएको छ ।

देउवा विसं २००३ जेठ ३१ गते डडेल्धुराको असिग्राम गाविस–५ मटेला, रुवाखोलामा जन्मिनुभएको हो । विसं २०१७ देखि राजनीतिमा लाग्नुभएका देउवा कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको पहिलो निर्वाचित अध्यक्षसमेत हुनुहुन्छ ।

विसं २०४८ को आमचुनावमा देउवा डडेल्धुराबाट विजयी हुनुभयो । देउवा २०५१ र २०५६ को संसदीय चुनाव, विसं २०६४ र २०७० को संविधानसभा चुनाव तथा २०७४ को संसदीय चुनावमा डडेल्धुराबाट विजयी हुनुभएको थियो । यसपटक सातौँपटक पनि डडेल्धुराका मतदाता तथा अन्य साथीहरूको सहयोगमा जित हासिल भएको कांंग्रेसका जिल्ला सचिव शेरबहादुर भण्डारीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री देउवाको संसद् यात्रा
पहिलो पटक २०४८ सालमा नेपाली काँग्रेस पार्टीबाट उम्मेदवार बन्नु भएका देउवा विजयी भएपछि त्यसयताका ६ वटै निर्वाचनमा विजयी हुनुभएको छ । यस पटक सातौँ पटक उहाँ विजयी हुनुभएको हो ।

देशको पाँच पटक प्रधानमन्त्रीसमेत भएर इतिहास बनाउनु भएका देउवा नयाँ संविधानको कार्यान्वयनका लागि तीन तहको निर्वाचन दुई पटक गराउन सफल हुनुभएको छ ।

देउवा २०४८ सालमा २४ हजार ५७० मत प्राप्त गरेर पहिलो पटक डडेलधुराबाट निर्वाचित हुनुभएको थियो । देउवाले २०५१ मा २० हजार ७०१ मत प्राप्त गरेर विजयी हुनुभएको थियो । २०५६ सालमा २६ हजार ६५१ मतसहित विजयी हुनुभयो भने २०६४ सालको निर्वाचनमा देउवाले २० हजार ५२९ मत प्राप्त गर्नुभयो ।

२०७० सालको निर्वाचनमा देउवा २३ हजार ९२० मतसहित विजयी हुनुभएको थियो । पछिल्लो निर्वाचन २०७४ मा देउवाले २८ हजार ४४६ मत पाउनुभएको थियो ।

एक मात्रै प्रतिनिधिसभा क्षेत्र रहेको डडेलधुरामा यस पटकको निर्वाचनमा सत्ता गठबन्धन दलहरूबाट देउवा उम्मेदवार बन्नुभएको हो । यो ऐतिहासिक विजयले देउवालाई फेरि देशको नेतृत्व गर्ने जिम्मेवारी प्रदान गरेको छ ।

तपाईको प्रतिक्रिया