खोटाङ, मङ्सिर ६ : प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा प्रदेश नं १ का खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राई ‘पासाङ’ले मतान्तर फेरि बढाउनुभएको छ ।
लोकतान्त्रिक–वाम गठबन्धनकातर्फबाट उम्मेदवार रहनु भएका नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य पासाङले चार हजार तीन सय १६ मत प्राप्त गर्नुभएको छ ।
उहाँलाई नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य एवं एमाले संसदीय दलका निवर्तमान प्रमुख सचेतक विशाल भट्टराईले तीन हजार पाँच सय ८३ मतसहित पछ्याउनुभएको छ । मन्त्री पासाङ एमालेका भट्टराईभन्दा सात सय ३३ मतले अगाडि हुनुहुन्छ ।
मतगणनामा जनता समाजवादी पार्टीका कृष्णकुमार राईले तीन सय ६४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सर्जु श्रेष्ठले एक सय आठ, नेपाल मजदुर किसान पार्टीका भोजराज बस्नेतले २२, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीका दीपक मगरले ७६, आमूल परिवर्तन मसिहाँ पार्टीले ३८ र स्वतन्त्रका जयन्द्रकुमार राईले ९७ मत प्राप्त गर्नुभएको छ । कुल नौ हजार ४७ मत गणना हुँदा चार सय ४३ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रदेशसभा (१) मा गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का १ नं प्रदेश समन्वय समिति संयोजक वीरबलकाजी राई एक सय २८ मतले अगाडि हुनुहुन्छ । वीरबलकाजीले तीन हजार आठ सय १५ तथा नेकपा (एमाले)का १ नं प्रदेश समिति सदस्य पाँचकर्ण राई ‘पिके’ले तीन हजार छ सय ८७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश शुभाषबाबु पुरीले जानकारी दिनुभएको छ ।
जनता समाजवादी पार्टीका राकेश राईले आठ सय ९५, नेकपा (माले)का पदमप्रसाद आचार्यले पाँच सय १४, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीका प्रयाग राईले १८, नेपाल मजदुर किसान पार्टीका केशव राईले १८, स्वतन्त्र उम्मेदवार कुमारप्रसाद भट्टराईले चार र अर्का स्वतन्त्र उम्मेदवार धर्मराज पोखरेलले पाँच सय २६ मत प्राप्त गर्नुभएको छ । नौ हजार नौ सय ७८ मत गणना हुँदा पाँच सय एक मत बदर भएको छ ।
प्रदेशसभा २ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेस १ नं प्रदेश समितिका महामन्त्री भूपेन्द्र राई नेकपा (एमाले) खोटाङका अध्यक्ष रामप्रसाद दङ्गालभन्दा चार सय ९५ मतले अगाडि हुनुभएको छ । महामन्त्री राईले चार हजार पाँच सय एक मत प्राप्त गर्दा दङ्गालले चार हजार छ मत प्राप्त गर्नुभएको छ ।
जनता समाजवादी पार्टी (जसपा)का प्रेमकुमार राईले एक सय १७, मङ्गोल नेश्नल अर्गनाइजेशन पार्टीका विमला राईले १५, नेपाल मजदुर किसान पार्टीका ध्यानप्रसाद ढकालले १६ र खम्बुवान राष्ट्रिय मोर्चाका सुवास राईले एक सय १९ मत प्राप्त गर्नुभएको छ । नौ हजार १९ मत गणना हुँदा २४५ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
एक लाख ४२ हजार सात सय ९२ मतदाता रहेको जिल्लामा ६७ हजार तीन सय ७३ मत अर्थात ४७ दशमलव १८ प्रतिशत मात्र मत खसेको छ । जिल्लामा प्रतिनिधिसभा सदस्यमा आठ, प्रदेशसभा १ मा १० र प्रदेशसभा २ मा छ जना उम्मेदवार छन् ।






