रसुवा, मङ्सिर ५ : रसुवामा सोमबार राति साढे आठ बजेबाट मतगणना शुरु भएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यतर्फ आइतबार भएको मतदानको गणना सोमबारबाट मात्रै शुरु गरिएको हो ।
जिल्लाको लाङटाङ क्षेत्रमा रहेका मतदानस्थल तथा मतदान केन्द्रबाट मतपेटिका सङ्कलन गर्न ढिलाइ भएपछि मत गणना कार्यमा पनि ढिलाइ भएको हो ।
प्रतिनिधिसभातर्फ एउटा मात्रै निर्वाचन क्षेत्र रहेको रसुवामा ३४ मतदानस्थल र ५४ मतदान केन्द्र थिए । लाङटाङ क्षेत्रका मतपेटिका मतगणनास्थलमा आइपुगेपछि सर्वदलीय बैठक बसेर गणना कार्य थालिएको हो । रसुवामा प्रतिनिधिसभा सदस्यतर्फ तीन स्वतन्त्रसहित १० उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । त्यहाँ ७३ प्रतिशत मत खसेको थियो ।






