जनकपुरधाम, मङ्सिर ५ : धनुषाका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ । निर्वाचन क्षेत्र नं ३ मा बिहानदेखि नै मतगणना सुरु भए पनि क्षेत्र नं १, २ र ४ मा ढिलो गरी मतगणना सुरु भएको हो । अहिले जिल्लाका सबै क्षेत्रमा मतगणना भइरहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ४ का मुख्य निर्वाचन अधिकृत सुदीप दङ्गालले समानुपातिकतर्फको मतगणना पनि सँगसँगै गर्ने निर्देशनपछि गणनास्थलको व्यवस्थापनका कारण ढिलाइ हुन गएको बताउनुभयो । यहाँ क्षेत्र नं १ को मतगणना धनुषाधाममा, क्षेत्र नं २ को तिनकौरियामा, क्षेत्र नं ३ को जनकपुरधाममा र क्षेत्र नं ४ को महेन्द्रनगरमा भइरहेको छ ।
धनुषामा तीन लाख १२ हजार एक सय ७० मत अर्थात् कूल मतदाताको ६५.७७ प्रतिशत मतदान भएको छ । यहाँ दुई लाख ५२ हजार नौ १५ पुरुष र दुई लाख २१ हजार छ सय ६५ महिला गरी कूल चार लाख ७४ हजार पाँच सय ८७ मतदाता रहेको छ ।






