खोटाङ, मङ्सिर ५ : एउटा प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा रहेको खोटाङमा आज राति ९ बजेपछि मतगणना सुरु गर्ने सर्वदलीय बैठकले निर्णय गरेको छ । प्रतिनिधिसभाको एक ठाउँ र प्रदेशसभाको छुट्टाछुट्टै एकरएक ठाउँ गरी एकैसाथ तीन ठाउँमा मतगणना गर्ने सर्वदलीय सहमति भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय दिक्तेलमा बसेको सर्वदलीय बैठकको निणर्यानुसार एक उम्मेदवारको एकजना मात्र प्रतिनिधि रहन पाउने व्यवस्था गरिएको छ भने पाँच सय मतगणना गरेपछि मात्र जानकारी दिने निर्णय भएको छ ।
यस्तै, मतगणनालाई मर्यादित तथा शान्तिपूर्ण तवरमा सम्पन्न गर्न मादक पदार्थ सेवनमा रोक लगाइएको छ भने उम्मेदवारका प्रतिनिधि तथा पत्रकारलाई प्रवेश अनुमतिपत्र दिने व्यवस्था मिलाइएको छ ।
एक लाख ४२ हजार सात सय ९२ मतदाता रहेको जिल्लामा ६७ हजार तीन सय ७३ मत अर्थात् ४७ दशमलव १८ प्रतिशतमात्र मत खसेको मुख्य निर्वाचन अधिकृत सुभाषबाबु पुरीले जानकारी दिनुभयो । मतदातामा निर्वाचनसम्बन्धी चासो नहुनाका साथै अन्नबाली उठाउने समय भएकाले कम मत खसेको विश्लेषकहरुले बताएका छन् ।
प्रतिनिधिसभा सदस्यमा आठ, प्रदेशसभा (१)मा दश र प्रदेशसभा (२)मा छजना उम्मेदवार छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीबीच चुनावी तालमेल भएको जिल्लामा वाम–लोकतान्त्रिक गठबन्धन र नेकपा (एमाले)का उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवम् १ नं प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राई ‘पासाङ’, प्रदेशसभा (क)मा एकीकृत समाजवादीका १ नं प्रदेश समन्वय समिति संयोजक वीरबलकाजी राई र प्रदेशसभा ९ख०मा कांग्रेसका १ नं प्रदेश समितिका महामन्त्री भूपेन्द्र राई उम्मेदवार रहनुभएको छ ।
एमालेबाट प्रतिनिधिसभा सदस्यमा पोलिटब्यूरो सदस्य एवम् निवर्तमान सांसद विशाल भट्टराई, प्रदेशसभा (१)मा प्रदेश समिति सदस्य एवम् संविधानसभा सदस्य पाँचकर्ण राई ‘पिके’ र प्रदेशसभा (२(मा जिल्ला अध्यक्ष रामप्रसाद दङ्गाल चुनावी मैदानमा उत्रनुभएको छ ।






