लमजुङमा एमाले अगाडि

  मंसिर ०५, २०७९

लमजुङ, मङ्सिर ५ : आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्र्तगत लमजुङमा जारी मतगणनामा नेकपा एमालेको उम्मेदवारले अग्रता लिनुभएको छ ।

प्रतिनिधिसभातर्फ नेकपा (माआवादी केन्द्र) का उम्मेदवार देवप्रसाद गुरुङभन्दा नेकपा (एमाले) का उम्मेदवार पृथ्वीसुब्बा गुरुङ चार सय २१ मतले अघि रहनुभएको छ । चार हजार नौ सय चार मतगणना हुँदा उक्त मतले निर्वतमान मुख्यमन्त्री गुरुङले सुरुवाती अग्रता लिनुभएको हो ।

मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालका अनुसार एमालेका गुरुङले दुई हजार पाँच सय ९८ मत प्राप्त गर्नुभएको छ । गठबन्धनतर्फबाट माओवादीका उम्मेदवार गुरुङले दुई हजार ८७ मत प्राप्त गर्नुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार धर्म केसीले ६७ मत प्राप्त गर्नुभएको छ । जिल्लामा एक लाख ३३ हजार पाँच सय ५९ मतदातामध्ये ८० हजार नौ सय १७ मत खसेको छ ।

जिल्लामा एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र र दुई प्रदेश निर्वाचन क्षेत्र रहेको छ । प्रदेश ‘१’ मा एमालेका जमिन्द्रमान घलेले तीन सय ७० मत प्राप्त गर्दा गठबन्धनका कांग्रेसका उम्मेदवार डा टकराज गुरुङले पाँच सय ७१ मत प्राप्त गर्नुभएको छ ।

प्रदेश ‘२’ तर्फ एमालेका उम्मेदवार कृष्णप्रसाद अधिकारीले एक हजार चार सय ६६ मत प्राप्त गर्नुभएको छ । गठबन्धनबाट कांग्रेसका उम्मेदवार भेषबहादुर पौडेलले सात सय २८ मत प्राप्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया