तीन दिन पैदलमार्गमार्फत ढुवानी गरेर मतपेटिका ल्याउँदै

  मंसिर ०५, २०७९

फुङ्लिङ, मङ्सिर ५ : ताप्लेजुङको हिमाली क्षेत्रमा रहेका मतदान केन्द्रका मतपेटिका छिटोमा मङ्गलबार अबेरमात्र ल्याइने भएको छ । सदरमुकाम फुङ्लिङदेखि लामो दूरी र यातायातको पहुँच नपुग्ने र हेलिकप्टर पनि नआएकाले तीन दिन पैदलयात्राबाट मतपेटिका ल्याइने जानकारी दिइएको छ ।

फक्ताङलुङ गाउँपालिका–७ को ओलाङचुङगोला र याङ्मा फक्ताङलुङ गाउँपालिका—६ ग्याब्ला र घुन्साको मतपेटिका मङ्गलबार अबेर मात्र आइपुग्ने मुख्य निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ ।

हेलिकप्टरमार्फत ल्याउने भनिए पनि पैदलमार्गमार्फत नै ल्याउनुपर्ने भएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताउनुभयो ।

पोखरेलले भन्नुभयो, “इलाडाँडामा चारवटै मतदान केन्द्रको मतपेटिका सङ्कलन हुन्छ । त्यहाँबाट गाडीमा मङ्गलबार बेलुकी आइपुग्छ ।” एक सय १९ वटा मतदान केन्द्रको मतपेटिका आज मुख्य निर्वाचन कार्यालय फुङ्लिङमा ल्याइपु¥याएको छ ।

जिल्लामा ४८ हजार तीन सय ५५ मत खसेको निर्वाचन अधिकारी दिनेश खनालले बताए । यहाँ ८८ हजार दुई सय ८५ वटा मतदाता छन् । सबै मतदान केन्द्रको मतपेटिका जम्मा भएपछि मात्र मतगणना गर्ने तयारी भइरहेको निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ ।

तपाईको प्रतिक्रिया