काठमाडौँ, मङ्सिर १ : एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण सङ्गठनको छाता सङ्गठन (ईफाप्का) को ४५ औँ सम्मेलन माल्दिभ्सको राजधानी मालेमा सुरु भएको छ ।
‘संरक्षण सहित निर्माण—अझ सम्मुन्नत विश्व निर्माण गरौँ’ भन्ने नारासहित सुरु भएको सम्मेलनमा ईफाप्कामा आबद्ध १९ मुलुकका निर्माण व्यवसायीको सहभागिता छ ।
सम्मेलनलाई नेपाली प्रतिनिमिण्डलको तर्फबाट सम्बोधन गर्दै नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले गोर्खा भूकम्प र कोभिड—१९ का कारण जोखिममा परेको नेपाली निर्माण उद्योगले विस्तारै गति लिइरहेको जानकारी दिनुभयो ।
नेपालमा नौ सय मेगावाटको अरुण दोस्रो र माथिल्लो कर्णालीजस्ता जलविद्युत् परियोजना, दुई हजार ६८० मिटर लामो सुरुङ मार्ग जस्ता महत्वपूर्ण परियोजना निर्माणाधीन अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो ।
नेपालले सन् २०३० सम्ममा मध्यम आय भएको राष्ट्रको रूपमा स्तरोन्नति भई दिगो विकास लक्ष्य हासिल गर्ने प्रतिबद्धता अध्यक्ष सिंहले जनाउनुभयो ।
मौसम परिवर्तनको असर सामना गर्ने नेपाल पनि एक प्रमुख राष्ट्र भएको प्रसङ्ग उल्लेख गर्दै उहाँले हरित पूर्वाधारको विकासलाई नेपालले प्राथमिकता दिएको जानकारी गराउनुभयो ।
पूर्वाधार विकासमार्फत आर्थिक विकास प्रक्रियाप्रति नेपालका राजनीतिक दलको बलियो प्रतिबद्धता रहेको र सोहीअनुसार ऐन नियम तर्जुमा भइरहेको उहाँको भनाइ थियो ।
रुस—युक्रेन युद्धबाहेक जग्गा प्राप्तिमा हुने झमेला, ‘साइट क्लियरेन्स’ को समस्या, निर्माण सामग्रीको अभाव, मूल्यवृद्धि, दक्ष तथा प्राविधिक जनशक्तिको अभावलगायतका आन्तरिक समस्या नेपाली निर्माण उद्योगले सामना गर्नुपरिरहेको उहाँले अवगत गराउनुभयो ।
नेपालमा हाल १७ हजारभन्दा बढी निर्माण कम्पनी दर्ता भइसकेको र १५ लाखभन्दा बढी यस उद्योगमा आबद्ध रहेको तथ्याङ्क उहाँले प्रस्तुत गर्नुभयो । ४६ औँ ईफाप्का सम्मेलन डेढ वर्षभित्रमा दिगो पूर्वाधारमा साझेदारी भन्ने नाराका साथ काठमाडौंमा आयोजना हुने जानकारी पनि उहाँले गराउनुभयो । ४५ औँ सम्मेलनको समाप्तिसँगै महासङ्घका अध्यक्ष सिंह नै ईफाप्काको अध्यक्षसमेत हुनुहुनेछ ।
ईफाप्का महासचिवको जिम्मेवारी भने महासङ्घका सल्लाहकार वीरेन्द्र पाण्डेले सम्हाल्नु हुनेछ । सन् १९५६ मा स्थापना भएको ईफाप्कामा हाल नेपालको तर्फबाट देशभरका निर्माण व्यवसायीको छाता सङ्गठन महासङ्घ आबद्ध रहेको छ । नेपालले सन् १९९३ मा ईफाप्काको सदस्यता लिएको हो । ईफाप्काको ३० औँ सम्मेलन पनि सन् १९९९ मा नेपालमा भएको थियो ।






