मिक्लाजुङ, मङ्सिर १ : नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनपछि पनि वर्तमान गठबन्धनको सरकारले निरन्तरता पाउने बताउनुभएको छ ।
पाँचथरको सदरमुकाम फिदिममा आज आयोजित आमसभालाई सम्बोधन गर्दै सहमहामन्त्री तथा पाँचथरका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार आङ्देम्बेले सो कुरा बताउनुभएको हो । उहाँले लोकतन्त्र, गणतन्त्र तथा संविधानको रक्षा र सुदृढीकरणका लागि गठबन्धनका उम्मेदवारलाई मत दिएर विजयी गराउन आग्रह गर्नुभयो ।
लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारले जितेका खण्डमा मात्रै मुलुकमा राजनीनिक स्थिरता, सुशासन र समृद्धि हासिल हुनसक्ने उहाँको भनाइ थियो । जिल्लाका गौरव तथा महत्वपूर्ण योजना अघि बढाउन वर्तमान गठबन्धनको सरकारले मात्रै सक्ने उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य तथा पाँचथर प्रदेशसभा (२) का उम्मेदवार इन्द्रबहादुर आङ्बो मौसमले सबै जनता एक भएर संविधान र सङ्घीयताको रक्षार्थ पनि लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताउनुभयो ।






