अव्यवस्थित बसोबासीका बस्ती नहटाउन माग

  मंसिर ०१, २०७९

काठमाडौँ, मङ्सिर १ : अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र)ले देशका कुनै पनि स्थानबाट भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीका बस्ती नहटाउन माग गरेको छ ।

महासङ्घले आज एक विज्ञप्ति जारी गर्दै भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलन र प्रमाणीकरण सम्पन्न नभएसम्म भूमिहीन र सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई दुःख दिने काम नगर्न आग्रह गरेको हो ।

अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति गुह्ेश्वरी, काठमाडौँले सिङ्गो देश निर्वाचनमा होमिएका बेला काठमाडौँका विभिन्न स्थानका सुकुम्बासी बस्ती हटाउने १० दिने सूचना प्रकाशन गरेको थियो ।

यसअघि नै राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलन र प्रमाणीकरण नभएसम्म बलपूर्वक नहटाउन पत्राचार गरेको थियो ।

महासङ्घले निर्वाचन आचारसंहिता लागू भएको, सम्पूर्ण विकास निर्माणका काम रोकिएको र भूमि आयोगले काठमाडौँ महानगरपालिकासँग कार्य सहमतिपत्रमा हस्ताक्षर गरी लगत सङ्कलन र प्रमाणीकरणको कामलाई अगाडि बढाइरहेको अवस्थामा सुकुम्वासी बस्ती खाली गर्न सूचना जारी गर्नु गैरजिम्मेवार भएको ठहर गरेको छ ।

सरकारले देशभरका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्रदान गर्न राष्ट्रिय भूमि आयोग गठन गरेको छ । आयोगले देशभर लगत (निवेदन) सङ्कलन, निस्सा वितरण, जग्गा नापजाँच र लालपूर्जा वितरणको काम तीव्रतापूर्वक अगाडि बढाइरहेको छ ।

महासङ्घले सरकारी निकायका सुकुम्बासी विरोधी पदाधिकारीलाई तत्काल बर्खास्त गरी भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको अधिकार सुनिश्चित गर्न पनि गठबन्धन सरकारसँग माग गरेको छ ।

तपाईको प्रतिक्रिया