आर्थिक विकास र समृद्धिका लागि गठबन्धन : वरिष्ठ नेता पौडेल

  कार्तिक २७, २०७९

तनहुँ, कात्तिक २७ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पाएका उपलब्धिको रक्षा गर्दै आर्थिक विकास र समृद्धिको लागि गठबन्धन भएको बताउनुभएको छ ।

जिल्लाको व्यास नगरपालिका–९ मा आज आयोजित कार्यकर्ता भेटघाटमा उहाँले पाँच दलीय गठबन्धन अपरिहार्य रहेको, देशमा सुशासन कायम कायम गर्न र भ्रष्टाचार नियन्त्रणका लागि जोड दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

जिल्लाको विकासमा हिजो सत्तामा रहँदा र नरहँदा देश र जिल्लाको विकासमा लाग्दै आएको र आउँदा दिनमा पनि काम गर्ने स्पष्ट पार्नुभयो । कहीँ कतै बिचलित नभई गठबन्धन शक्तिलाई जिताउनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो, “अधूरा काम पूरा गर्नेछु, जनता सामु बोलेका कुरा व्यवहारमा लागू गरेर छाड्ने बाचा गर्छु ।”

सत्तामा जान र पदका लागि मात्रै गठबन्धन नभएको उल्लेख गर्दै नेता पौडेलले लोकतन्त्र, गणतन्त्र र संविधान जोगाउनको लागि पार्टी गठबन्धन गरिएको स्पष्ट पार्नुभयो । गाउँका युवा शक्तिलाई विदेशिनबाट रोक्नका लागि स्वदेशमा बसेर रोजगारी गर्ने अवसरको ढोका खोलेर आर्थिक क्रान्ति गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया