जेनेभा, कात्तिक २५ : संयुक्त राष्ट्रसंघका अधिकारीहरूले शुक्रबार रुसका अधिकारीहरूसँग अन्न र मल निर्यात गर्नका लागि ब्ल्याक सी सम्झौताहरूमा केन्द्रित रहेर वार्ता गरिरहेका छन् । ती सम्झौताहरू मध्ये एक सम्झौताको म्याद सकिन आठ दिन बाँकी छ।
संयुक्त राष्ट्रसंघ मानवीय प्रमुख मार्टिन ग्रिफिथ्स र संयुक्त राष्ट्रसंघ व्यापार र विकास एजेन्सीका प्रमुख रेबेका ग्रिनस्पेनले रूसी उप(विदेश मन्त्री सर्गेई भर्सिनिनको नेतृत्वमा गठित मस्कोका उच्चस्तरीय प्रतिनिधिमण्डलसँग वार्ता गरेका छन् ।
संयुक्त राष्ट्रसंघका प्रवक्ता अलेसेन्ड्रा भेलुचीले जेनेभामा रहेको संयुक्त राष्ट्रसंघको प्यालेस डेस नेसन्सको मुख्यालयमा वार्ता भइरहेको पुष्टि गरेकी छन् ।
‘उनीहरूले जुलाई २२ मा इस्तानबुलमा हस्ताक्षर गरेका दुई मुख्य सम्झौताको पूर्ण कार्यान्वयनका लागि महासचिव एन्टोनियो गुटेरेसको प्रयासको समर्थनमा थप परामर्श जारी राख्नेछन्,’ उनले बताएकी छिन् ।
‘यो आशा छ कि छलफलले रूसी संघबाट विश्व बजारमा उत्पन्न हुने खाद्यान्न र मलको निर्बाध निर्यातलाई सहज बनाउनको लागि भएको प्रगतिलाई अगाडि बढाउनेछू वार्तापछि सार्वजनिक टिप्पणीमा सो कुरा सार्वजनिक गरिएको छ।
एक करोड बीस लाख टन निर्यात
संयुक्त राष्ट्रसंघ र टर्कीले मध्यस्थता गरेका दुई सम्झौता जुलाई २२ मा हस्ताक्षर गरिएको थियो । युक्रेन(रूस युद्धले अवरुद्ध भएको युक्रेनी अन्नको निर्यातलाई अनुमति दिन र युक्रेनमा आक्रमण गरेपछि मस्कोमा पश्चिमी प्रतिबन्धहरूको बावजुद रूसी खाद्यान्न र मलको निर्यात गर्न सो सम्झौता गरिएको थियो। १२० दिने ब्ल्याक सी ग्रेन इनिसिएटिभ नोभेम्बर १९ मा समाप्त हुँदैछ र संयुक्त राष्ट्रसंघले एक वर्षको लागि सम्झौता नवीकरण गर्न खोजिरहेको छ।
यद्यपि मस्कोले त्यसमा सहमति जनाउने वा नजनाउँने बारे केही बताएको छैन । तीन वर्षसम्म चल्ने गरी आफ्नो मलमा छुट दिने दोस्रो सम्झौताको पनि पालना नभएको गुनासो छ ।
युक्रेन विश्वको शीर्ष अन्न उत्पादकहरू मध्ये एक हो र रूसी आक्रमणले सुरक्षित मार्ग सम्झौता नभएसम्म यसको बन्दरगाहहरूमा दुई करोड टन अन्नको निर्यात रोकिएको थियो ।
बिहीबार सम्म सम्झौता अन्तर्गत युक्रेनबाट १ करोड २० लाख टन अन्न र अन्य खाद्यान्न निर्यात गरिएको छ जसले विश्वव्यापी खाद्य सुरक्षा सङ्कटको गहिरो हुँदै गएको डरलाई कम गरेको टिप्पणी गरिएको छ। यसै बीच संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि सङ्गठनले यो सम्झौता नवीकरण नभए विश्वव्यापी खाद्य सुरक्षाका लागि गम्भीर असर पार्ने बताएको छ।
‘हामी यसलाई खाद्यान्न उपलब्धतामा सुधार ल्याएको एउटा महत्त्वपूर्ण पहलका रूपमा हेरेका छौ’ एफएओको बजार तथा व्यापार विभागका निर्देशक बौबेकर बेन-बेलहासेनले भनेका छन् ।
उनले रोमबाट भिडियो लिङ्कमार्फत पत्रकारहरूललाई सम्झौता नवीकरण नभए गम्भीर असर पर्ने र त्यस्को असर कसैले देख्न नचाहेको पनि बताएका छन् ।
उनले विशेष गरी विश्वव्यापी खाद्य सुरक्षा, मूल्य, उपलब्धता र खाद्यान्नको अवस्था बारे गम्भीर टिप्पणी गरेका छन् ।
बेन(बेलहासेनले छोटो अवधिमा विशेष गरी गहुँ, मकै र सूर्यमुखीको तेलको मूल्य बढ्ने र विश्व बजारमा अन्नको उपलब्धतामा व्यापक गिरावट आउँने बताएका छन् ।
मध्य पूर्व र उत्तर अफ्रिकामा विशेष गरी कृष्ण सागर आयातमा निर्भर देशहरूमा यसको ठूलो प्रभाव पर्ने उनको दाबी छ ।
बेन-बेलहासेनले सम्झौताहरू नवीकरण नगरे युक्रेन भित्रै पनि असर पर्ने चेतावनी पनि दिएका छन् ।
युद्धग्रस्त देशका किसानहरूलाई भविष्यको लगानी र अर्को बाली लगाउँन र राजस्व प्रवाहमा पनि सम्झौता नवीकरण नभए गम्भीर दबाब पर्ने बताएका छन् ।
जारी रुस-युक्रेन युद्धले विश्वव्यापीरूपमा खाद्यान्न र ऊर्जाको गम्भीर सङ्कट देखिएको छ। यो सङ्कटलाई कम गर्न संयुक्त राष्ट्रसंघले छलफललाई तीव्रता दिएको छ।






