मकवानपुर, कात्तिक २४ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीको नेतृत्वमा सरकार बने अर्थतन्त्र सुधार गर्ने बताउनुभएको छ ।
आज मकवानपुरको बकैया-४ जुरेलीमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै देशमा रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
उहाँले पछिल्लो पाँच वर्षमा प्रतिनिधिसभामा एक्लै भए पनि राष्ट्रियता र जनताको हितमा वकालत गरेको बताउनुभयो । देश बचाउने अभिभारा अब जनताको काँधमा आएको बताउनुभयो ।
उहाँले सबै राजनीतिक दल एकातिर र राप्रपा अर्को तिर रहेको भन्दै बताउनुहुँदै राप्रपाका उम्मेदवारलाई मतदान गरी देश बचाउन आग्रह गर्नुभयो । राप्रपा जनजातिप्रति अनुदार छ भनेर भ्रम फैलाइएको बताउँदै उहाँले आफू जनजाति कै छोरा भएको र जनताले पत्याए प्रधानमन्त्री भएर मुलुकलाई समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।






