दाफा भजनले गुन्जियो भक्तपुर र थिमिका सम्पदा, सकियो एक महिने कात्तिक भजन

  कार्तिक २२, २०७९

भक्तपुर, कात्तिक २२ : साँझ ढल्किँदै गयो, भक्तपुर र मध्यपुरथिमि नगरपालिकास्थित नेवार समुदायको बस्तीभित्रको पाटी र मन्दिरमा चहलपहल पनि बढ्दै गयो ।

दिउँसोदेखिनै यहाँका मन्दिर प्राङ्गणमा अन्नबाट विभिन्न देवीदेवताको आकृति बनाइएको थियो । साँझ बत्तीले झिलिमिली बनेका चोकचोक, गल्लीगल्लीमा रहेका विभिन्न मठमन्दिर र पाटी तथा सत्तलमा महिला पुरुषको सहभागिता बढ्दै गयो ।

हार्मुनियम, तबला र विभिन्न परम्परागत बाजा बज्न थाले अनि गाइन थाले दाफा भजन । प्रत्येक मन्दिर र पाटीमा घन्किएका दाफा भजनले भक्तपुर र मध्यपुरथिमि गुञ्जायमान बन्यो ।

मन्दिर अगाडि मकै, भटमास, पिँडालु, सखरखण्डलगायतका विभिन्न अन्न र अन्नका परिकारको थुप्रो लागेको थियो । मध्यपुरथिमिको बोडे, नगदेश, चपाचोमा मन्दिर अगाडि गहँुको पिठोबाट पकाइएको परिकार, विभिन्न देवीदेवता र मन्दिरको आकृति बनाइएको थियो ।

यता भक्तपुरको गोल्मढीस्थित गणेश मन्दिर, ज्याठा गणेश, बाराहीस्थान, सूर्यविनायक गणेश मन्दिर, टौमढीको भैरव मन्दिरलगायतका विभिन्न मन्दिरअगाडि घरघरबाट ल्याएको भुटेको मकै, कालो भटमास, गहुँलगायतका गेडागुडी तथा पुरी मालपुवालगायत गहुँबाट बनेको परिकारबाट मन्दिर अगाडि देवताको आकृति बनाइएको थियो । अन्नबाट आकृति बनाइने परम्परालाई हरिमन्दिर तथा नसा ब्वयेगु पनि भन्ने चलन रहेको संस्कृतिविद् ओमहरि कायस्थले बताउनुभयो ।

स्थानीय बासिन्दाले आफ्नो टोलको दाफा भजन भएको ठाउँमा सहभागिता मात्रै जनाएका थिएनन्, प्रत्येक घरबाट उसिनेको सखरखण्ड, पिँडालु तथा भुटेका मकै, भटमास र गहँुलगायतका गेडागुडीले मुलालगायतको थुप्रो देखिन्थ्यो । राति दाफा भजन सकिएपछि भने सबैले त्यसलाई प्रसादका रूपमा ग्रहण गर्दै आजदेखि एक महिने दाफा भजन सम्पन्न गर्ने परम्परा छ ।

दसैँको कोजाग्रत पूर्णिमादेखि नेवार समुदायले आ–आफ्नो टोलमा रहेको गणेश, महादेवलगायतका देवीदेवताका मन्दिरमा प्रत्येक साँझ दाफा भजनकीर्तन गाउन सुरु गरेका थिए । सोही एक महिने भजनकीर्तन भव्यरूपमा अन्नको देवत्व ग्रहण गर्ने पर्वका रूपमा समापन गरिएको संस्कृतिविद् कायस्थको भनाइ छ ।

मध्यपुरथिमि नगरपालिका–७ नगदेशका वडाध्यक्ष कृष्णकुमार प्रजापतिले एक महिने कात्तिक भजनको समापन गरिएको उल्लेख गर्दै यो पर्वलाई हिन्दू र बौद्ध धर्मावलम्बीले मान्दै आएको बताउनुभयो ।

नेवार समुदायले ऋतुअनुसारको उब्जनी आफ्नो उत्पादन इष्ट देवलाई चढाएर मात्र खाने प्रचलनअनुसार यसदिन पिँडालु, सखरखण्डलगायतका कन्दमूल उसिनेर आफ्ना इष्टदेवलाई चढाएर खाने प्रचलन रहेको उहाँ बताउनुहुन्छ । यसले शरीरमा तागत उत्पन्न हुने र शरीर स्वस्थ हुने जनविश्वास रहँदै आएको उहाँको भनाइ छ ।

सकिमाना पुन्हिमा महादेवको पूजा आराधना र दर्शन गरी व्रत बस्नाले पुण्य प्राप्त हुनुका साथै अविवाहितले राम्रो वर पाउने, घर परिवारमा सुख शान्ति हुने धार्मिक विश्वाससमेत रहँदै आएको संस्कृतिविद् कायस्थ बताउनुहुन्छ ।

नेपाल संवत् ८१८ मा भूपतीन्द्र मल्लले लेखाएको भक्तपुर दरबार क्षेत्रको मालती चोकको अभिलेखमा भक्तपुर तलेजुभित्र सकिमना पुन्हि मनाउने क्रममा तलेजु भवानीलाई खीर चढाउने गरिएको उल्लेख गरिएको छ । यसैदिन तलेजु मूलचोकको स्नेह मण्डपमा पनि अन्नको परिकार बनाएर नसा ब्वयेगु गरिन्छ ।

तपाईको प्रतिक्रिया