पूर्वाग्रह नराखी जनताको सेवा गर्छु : बराल

  कार्तिक २१, २०७९

गण्डकी, कात्तिक २१ : कास्की क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यका लागि पाँच दलीय गठबन्धनका उम्मेदवार किशोरदत्त बरालले पूर्वाह नराखी जनताको सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

पोखरा महानगरपालिका–१३ का चिसापानी, भद्रकाली, गौडाकोमुख, मियाँपाटन, बिपी मार्ग, जय नेपाल मार्ग, उद्गम टोल, बाँझापाटन, काँहुखोलालगायत स्थानमा आयोजित घरदैलो एवं कोणसभामा उहाँले विकास, समृद्वि र रूपान्तरणका लागि क्रियाशील बनिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गठबन्धनका तर्फबाट प्रदेशसभा सदस्य उम्मेदवार दीपक गुरुङले जनताको सेवा गर्नु नै आफ्नो मुख्य लक्ष्य भएको बताउँदै घरदैलोबाट आफू उत्साहित बनेको उल्लेख गर्नुभयो ।

जनतालाई झुटा आश्वासन दिन्न : गुरुङ

नेकपा एमालेका तर्फबाट कास्की निर्वाचन क्षेत्र नं १ (२) का प्रदेशसभा सदस्यका उम्मेदवार वेदबहादुर गुरुङ ‘श्याम’ ले जनतालाई भ्रममा पार्ने झुटा आश्वासन नदिने बताउनुभएको छ ।

कास्कीको मादी गाउँपालिका–५ मा भएको घरदैलो कार्यक्रममा उहाँले राजनीतिक दल र उनीहरूका उम्मेदवारले गर्दै नगरेका र गर्न नसकिने काम पनि हामीले गरेको हो र गर्छौँ भन्ने झुटा आश्वासन दिँदै आएको बताउनुभयो ।

आफ्नो निर्वाचन क्षेत्रमा रोजगारी र आम्दानी दिने काम बाँकी रहेकाले चुनावको मैदानमा आएको उल्लेख गर्दै युवालाई विदेशिन नपर्ने गरी यहीँ रोजगारीको सिर्जना गर्नु पहिलो प्राथमिकतामा रहेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया