विचार नभएका, नीति नभएका गठबन्धनले फरक–फरक घोषणापत्र सार्वजनिक गरेको उहाँको आरोप थियो । गन्तव्य नभएकाले फरक–फरक घोषणापत्र बोकेर हिँडेको बताउँदै उहाँले उनीहरू जनतासँग झुटो आवश्वासन बाँढिरहेका छन् भन्नुभयो ।
लिपुलेक लिम्पियाधुराको जमिन वार्तामार्फत फिर्ता ल्याउन सकिने र नेकपा एमालेले बहुमतको सरकार बनाएर वार्तामार्फत फिर्ता ल्याउने बताउनुभयो । उहाँले आफूहरूले देशलाई प्रगतिको बाटोमा लगेको बताउनुभयो । अध्यक्ष ओलीले देशमा सुदृढ राष्ट्रियशक्ति आवश्यक भएको र त्यो एमाले भएको जिकिर गर्नुभयो ।
एमालेले घोषणापत्रमा २० वटा ग्यारेन्टी क्षेत्र तोकेको बताउँदै उहाँले त्यसमा राष्ट्रिय समृद्धिका सबै कुरा समेटिएको बताउनुभयो । सामाजिक सुरक्षाका क्षेत्रमा धेरै विषयलाई नेकपा एमालेले उठाउनुका साथै त्यसको व्यवस्थापन गर्दै आएको उहाँले बताउनुभयो ।
नेकपा एमालेका सङ्गठन विभाग प्रमुख एवं कास्की निर्वाचन क्षेत्र नं १ (क) का प्रदेशसभा सदस्यका उम्मेदवार खगराज अधिकारीले गण्डकीलाई पर्यटन, कला संस्कृतिको विकास गरी नमूना प्रदेशका रुपमा विकास गर्न सकिने बताउनुभयो ।
पोखरालाई पर्यटनको राजधानी बनाउने बताउँदै उहाँले पोखरासहित समग्र गण्डकीको समृद्धि र विकासका लागि नेकपा एमालेलाई विजयी गराउनुपर्ने बताउनुभयो । नेकपा एमाले कास्कीका कार्यावाहक अध्यक्ष तेजनारायण अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला सचिव बैनबहादुर अधिकारी क्षेत्री, उपसचिव दर्शन लामा लगायतले बोल्नुभएको थियो ।






