दाङ, कात्तिक १७ : पाँच दलीय संयुक्त गठबन्धन दाङ क्षेत्र नं.३ ले आज साझा प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । प्रतिनिधिसभा सदस्य उम्मेदवार दीपक गिरी, प्रदेश क्षेत्र (१) का उम्मेदवार डिल्ली चौधरी र (२) का उम्मेदवार धनबहादुर मास्की (राजेश) ले संयुक्त रुपमा सो प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको हो ।
प्रतिबद्धतामा पश्चिम क्षेत्रमा मेडिकल कलेज स्थापना गर्ने, सबै विद्यालयलाई टिनका छाना मुक्त बनाइ पक्की भवन बनाउने, महेन्द्र माविलाई मेघा विद्यालयका रुपमा स्थापना गर्ने, मावि श्रीगाउँ र हंसपुरलाई पनि त्यहीँ अनुसार विकास गर्ने, राप्ती बबई क्याम्पसलाई आधुनिक क्याम्पसका रुपमा विकास गर्ने, सामुदायिक विद्यालयलाई गुणस्तरीय शैक्षिक केन्द्र बनाउने, प्रत्येक गाउँपालिका तथा उपमहानगरपालिकामा एउटा प्राविधिक शिक्षालय खोल्ने उल्लेख गरिएको छ ।
स्वउद्यम गर्न चहाने युवालाई उद्यमको रुपमा अनुदान, बबई लिफ्टिङ, कृषि उत्पादन सङ्कलन केन्द्र स्थापना, हरेक वडामा कृषि तथा पशु सेवा इकाई स्थापना गर्नुका साथै पशु हस्पिटल सञ्चालन गर्ने र युवालाई स्वरोजगार बनाउने प्रतिबद्धतापत्रमा उल्लेख छ ।
टरिगाउँ एयरपोर्टमा एटीआर–७२ विमानको उडान भर्न सक्ने क्षमताको बनाउने, पर्यटन गाईड, पर्यटन बस, घोडचढी तथा पदयात्रा सेवा विस्तार, पर्यटकीयस्थलमा पुग्न साईकल सर्किट घोषणा, आकाशे पानी सङ्कलन, तुलसीपुर–हापुरे सडकलाई चारलेन, गहते–बाघमारे–घट्टेकुला सडकलाई दुई लेन बनाउने तथा दलित, विपन्न, मुक्तकमैया, कम्लहरी, मुस्लिम विद्यार्थीलाई उच्च शिक्षासम्म निःशुल्क शिक्षा प्रदान गर्ने प्रतिबद्धतापत्रमा उल्लेख छ ।
दाङ क्षेत्र नं ३ का उम्मेदवार गिरीले मुलुकको मुहार बदल्न विभिन्न आन्दोलनसँगै गरेको भन्दै अब विकास पनि गठबन्धन दलले सँगै गर्ने भएकाले साझा घोषणापत्र बनाएको बताउनुभयो । उहाँले दाङलाई माथि उठाउनका लागि प्रतिबद्धतापत्र तयार गरेको भन्दै त्यहीँअनुसार काम गर्ने बताउनुभयो ।
दाङ क्षेत्र नं.३ (२) का उम्मेदवार धनबहादुर मास्कीले पश्चिम दाङको विकासका लागि एकताबद्ध भएर लाग्ने बताउनुभयो । “यसअघि व्यवस्था बदल्नका लागि हामी एकताबद्ध भएका थियौँ, अब अवस्था बदल्नका लागि एक जुट भएका छौँ”, उहाँले भन्नुभयो । त्यस्तै क्षेत्र नं३ (१)का उम्मेदवार चौधरीले आफूले झुटको खेति नगर्ने र प्रतिबद्धतापत्रअनुसार काम गर्ने बताउनुभयो ।






