राजनीतिक प्रक्रियाको सफलताका लागि आर्थिक विकास अपरिहार्य : प्रचण्ड

  कार्तिक १७, २०७९

काठमाडौं, कात्तिक १७ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनलाई सामान्य रुपमा नलिन आग्रह गर्नुभएको छ ।

बिहीबार काठमाडौंमा भएको गोरखा जिल्लाका गठबन्धनका साझा उम्मेदवारहरुको परिचयात्मक चुनावी प्रचारप्रसार कार्यक्रम समारोहलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष दाहालले आगामी निर्वाच प्रतिगामी वा अग्रगामी शक्तिलाई जिताउने भन्नेमा केन्द्रित रहेको बताउनुभएको हो ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएको अध्यक्ष दाहालले राजनीतिक प्रक्रियाको सफलताको निम्ति आर्थिक विकास अपरिहार्य रहेको पनि बताउनुभयो । नेताको दैनिक जीवनमा आर्थिक समृद्धिको यात्रा सुरु भएको अनुभूति दिलाउन र आर्थिक क्रान्तिको खाका कोर्न नसके राजनीतिक परिवर्तन दिगो नहुने उहाँको भनाइ छ ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘‘गोरखाको ऐतिहासिक परम्परालाई अघि बढाउने र राज्यको एकतावद्ध गराउने अवसरको रुपमा र नेपालको राजनीतिक परिवर्तनलाई आर्थिक परिवर्तनसहित समृद्ध गर्ने एउटा ठूलो अवसरको रुपमा पनि मैले गोरखामा मेरो उम्मेदवारीलाई लिएको छु । यसलाई सफलतापूर्वक कार्यसम्पादन गर्नसकेँ वा हामी सबै मिलेर सम्भव छ । यो निर्वाचन सामान्य निर्वाचनको रुपमा नलिदिनुहोला ।’’

नेपालमा राजनीतिक स्थिरता र विकासको नयाँ युगतिर ढुक्कसँग जानसक्ने वातावरण जनताले गठबन्धनलाई मत दिएर मात्रै सम्भव छ । उहाँले आफ्नो गोरखा आगमनलाई ठूलो चुनौती र अवसरको रुपमा लिएको बताउनुभयो । अध्यक्ष दाहालले गोरखा जिल्लाको इतिहास, राष्ट्र एकताको बचाइरहने र राजनैतिक परिवर्तन र प्रगतिको सन्दर्भमा गोरखा जिल्लाको ऐतिहासिक भूमिका उजागर पार्नुपर्ने चुनौती रहेको औंल्याउनुभयो । गोरखाली जनताले आफूलाई नेपालको राजनीतिक परिवर्तनलाई आर्थिक परिवर्तनसहित समृद्ध गर्ने अवसर प्रदान गर्नेमा आफू विश्वस्त रहेको धारणा व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘मेरो गोरखा आगमनलाई मैले ठूलो चुनौती र अवसरको रुपमा लिएको छु । चुनौती गोरखा जिल्लाको इतिहास, राष्ट्र एकताको सन्दर्भमा वा राजनैतिक परिवर्तन र प्रगतिको सन्दर्भमा गोरखा जिल्लाको ऐतिहासिक भूमिका छ । जुन दूरगारी रणनैतिक भूमिका छ । त्यो भूमिका खेल्ने जनताको भावनालाई मैले उचित सम्मान गर्न सक्छु की सक्दिन भन्ने चुनौती जस्तो मलाई महशुस भइराख्छ ।’’

अध्यक्ष दाहालले गोरखाको विकासको लागि सबै राजनीतिक दलहरु एकत्रित भएर काम गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले गठबन्धनले गोरखामा जितेको चुनाव परिणाम असाधारण तरिकाले जित्यो भन्नेकुरा सावित गर्न सक्नुपर्ने जानकारी दिनुभयो । अध्यक्ष दाहालले आगामी चुनावमा अभुतपूर्व रुपमा परिणाम निकाल्ने गरी चुनावमा लाग्न पनि नेता, कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । उहाँले आगामी निर्वाचनमा प्रतिगामी शक्तिलाई टाउको उठाउन नसक्ने गरी पराजित गर्नुपर्ने बताउनुभयो ।

‘‘नेपाल एकपटक फेरि निरंकुशता, अराजकता, प्रतिगमनतिर जाने की ठूलो बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्दै विकास र समृद्धिको यात्रामा अघि बढ्ने भन्ने कुराको लडाईं हो । नेपालमा राजनीतिक स्थिरता र विकासको नयाँ युगतिर अब ढुक्कसँग जान सकिने वातावरण बनाउनुछ ।,’’ उहाँले भन्नुभयो, ‘‘अब यो राजनीतिक प्रक्रियाको सफलताको निम्ति आर्थिक विकास अपरिहार्य शर्त छ । यदी हामीले जनताको दैनिक जीवनमा आर्थिक समृद्धिको यात्रा सुरु भएको अनुभूति दिलाउन सकेनौँ, आर्थिक क्रान्तिको खाका कोर्न सकेनौँ भने यो परिवर्तन दिगो हुँदैन । त्यसकारण परिवर्तनको दिगो पनका लागि पनि आर्थिक समृद्धिको नयाँ खाका सुरु गर्नुपर्छ ।’’

तपाईको प्रतिक्रिया