सी जिन्पिङ तेस्रो कार्यकालका लागि शक्तिमा, नयाँ प्रधानमन्त्रीमा ली चियाङ

  कार्तिक ०७, २०७९

काठमाडौं, कात्तिक ७ : पार्टीको अधिवेशनबाट तेस्रो कार्यकालका लागि पुन: शक्तिमा आएका चिनियाँ राष्ट्रपति सी जिन्पिङले आफ्नो नयाँ समूह चयन गरेका छन् ।

चीनको नयाँ प्रधानमन्त्रीमा ली चियाङ चयन भएका छन् । प्रधानमन्त्री ली खछ्याङ पार्टी नेतृत्वबाट बाहिरिएपछि आइतवार नयाँ प्रधानमन्त्रीको घोषणा भएको हो ।

यसअघि चिनियाँ कम्युनिस्ट पार्टीको स्थायी समितिबाट यसअघिका प्रधानमन्त्री लीसहित चार जना नेताहरू बाहिरिएका थिए ।

हरेक पाँच वर्षमा हुने चिनियाँ कम्युनिस्ट पार्टीको अधिवेशनबाट पार्टी महासचिव सँगै सात सदस्यीय स्थायी समिति र २५ सदस्य रहेको पोलिटब्यूरो चयन हुन्छन् ।

विगतको अभ्यास तोड्दै राष्ट्रपति सी जिन्पिङ तेस्रो कार्यकालका लागि पार्टी महासचिव छानिएका छन् । नयाँ चयन भएको पोलिटब्यूरोमा एक जना पनि महिला छैनन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको स्थायी समितिको बाँकी सदस्यमा झाओ लेजी, वाङ हुनिङ, साई ची, दिङ सियासियाङ र ली सी चयन भएका छन् ।

जसमध्ये झाओ र वाङ मात्रै दोहोरिएका हुन् भने प्रधानमन्त्री ली सहित चार जना नयाँ सदस्य हुन् । स्थायी समितिबाट बाहिरिनेमा उपप्रधानमन्त्री हान झेन र चीनको न्याशनल पीपल्स कङ्ग्रेसका अध्यक्ष ली चाङ्शू पनि छन् ।

नेपालका तत्कालीन सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चाङ्शू गत महिना नेपाल भ्रमणमा आएका थिए । चिनियाँ कम्युनिस्ट पार्टीको सल्लाहकार निकायका प्रमुख वाङ याङ पनि स्थायी समितिबाट बाहिरिएका छन् ।

को हुन् नयाँ प्रधानमन्त्री
राष्ट्रपति सीसँग निकट मानिने ६३ वर्षीय ली यसअघि उनको सचिवालयमा प्रमुखको रूपमा समेत काम गरेका थिए । चियाङ पार्टीको साङ्घाइ प्रमुख थिए र यसअघि उक्त सहरमा भएको दुई महिने लकडाउनमा उनले नेतृत्व गरेका थिए ।

स्टेट काउन्सिल भनिने चिनियाँ मन्त्रिपरिषद्को अनुभव नभएका लीलाई पार्टीमा एकै पटक केही तह बढुवा सहित प्रधानमन्त्रीमा नियुक्त गरिएको हो ।

“केन्द्रमा काम गरेको अनुभवबिनै प्रदेश वा नगरको जिम्मेवारीबाट सिधै प्रधानमन्त्रीमा बढुवा हुने ली चियाङ पहिलो अधिकारी हुन्,” अमेरिकन युनिभर्सिटीका प्राध्यापक याङ झाङले बीबीसीसँग भने ।

उनका अनुसार उपप्रधानमन्त्रीको रूपमा काम नगरी प्रधानमन्त्री बन्ने ली झाओ इनलाई पछि दोस्रो हुन् । मन्त्रिपरिषद्को अनुभव नभएका कारण ली आफ्नो अधिकार प्रयोगका लागि राष्ट्रपति सीमा निर्भर रहनुपर्ने विश्लेषकहरूले बताएका छन् ।

यसअघिका प्रधानमन्त्री ली खछ्याङ स्थायी समितिमा राष्ट्रपति सीसँग समेत प्रतिवाद गर्न सक्थे । लीको बढुवाले चिनियाँ राजनीतिमा महत्त्वपूर्ण पुनर्संरचनाका साथै राष्ट्रपति सीमा थप शक्ति केन्द्रीकृत भएको देखाएको छ ।

‘विश्वलाई चीन चाहिन्छ’
आफ्नो नयाँ टोली सार्वजनिक गरेपछि सीले चीनको विकाशका लागि विश्व चाहिने र विश्वका लागि पनि चीन आवश्यक पर्ने बताएका छन् ।

सीले डोर्‍याएको बाटोका कारण विश्व अर्थतन्त्रबाट चीन एक्लीएको चिन्ताबीच उनले यस्तो बताएका हुन् । “विश्वबाट अलग भएर चीनको विकाश हुन सक्दैन र विश्वलाई पनि चीनको आवश्यकता पर्छ,” सीले भने ।

आफूहरू आत्मविश्वासका साथ अघि बढिरहेको भन्दै उनले चीनलाई आधुनिक समाजवादी देश बनाउने वाचा गरे । “चीनलाई सबै हिसाबले आधुनिक समाजवादी देशमा परिणत गर्ने नयाँ यात्रामा हामीले आत्मविश्वासका साग पाइला चालिरहेका छौँ,” आफ्नो नयाँ टिम सार्वजनिक भएपछि सीले भने ।

सी चाहेसम्म पदमा रहिरहन सक्ने
बीबीसीका चीन संवाददाता स्टीभन मक्डोनलका अनुसार तेस्रो कार्यकालका लागि राष्ट्रपति बनेका सी जिन्पिङ भविष्यमा कुनै राजनीतिक उतार चढाव आएर पदबाट हटाइएको अवस्थामा बाहेक आफूले चाहेसम्म पदमा रहिरहन सक्छन् ।

कम्युनिस्ट पार्टीको केन्द्रमा सीलाई निरन्तरता बाहेक यो महाधिवेशनले अरू कुनै निर्णय लिने अपेक्षा कसैले गरेका थिएनन् । यसमा नयाँ के भयो भने सीको नयाँ टोलीमा उनका निकटस्थहरू जम्मा भए ।

देशको अर्थतन्त्रको नेतृत्व गर्ने पार्टीको दोस्रो बरीयताको नेता तथा प्रधानमन्त्रीमा सीले ली चियाङलाई छानेका छन् । ली साङ्घाइमा कोभिड नियन्त्रणका लागि लगाइएको लकडाउनका कारण आलोचित थिए । कम्युनिस्ट पार्टीको २५ सदस्यीय पोलिटब्यूरोमा महिला कहिल्यै चुनिएका छैनन् ।

सीले पनि यो परम्परा तोड्न सकेनन्। चीनको सांस्कृतिक क्रान्तिका समयमा ग्याङ अफ फोरका नामले चिनिएको नेतृत्व तहको समूहमा माओकी चौथो श्रीमती रहे पनि उनको पद औपचारिक थिएन । नेतृत्वमा महिला नहुँदा कतिपयलाई बेखुसी लागे पनि यो अनौठो होइन । (बिबिसी)

तपाईको प्रतिक्रिया