विदेशी संस्कृतिले नेपाली बाजा मादल सङ्कटमा

  कार्तिक ०२, २०७९


काठमाडौं, कात्तिक २ : सरकारले नेपाली मौलिक बाजाहरुको संरक्षण गर्न नसक्दा व्यवसाय नै सङ्कटमा परेको व्यवसायीहरुले गुनासो गरेका छन् । विगतको तिहारमा बजारमा मादलको माग आत्याधिक हुने गरेपनि पछिल्लो समय मादल व्यवसाय नै धरापमा परेको उनीहरुले गुनसो गरेका हुन् ।

विगतमा तिहारलाई लक्षित गरी मादल उत्पादन गर्न भ्याइनभ्याइ हुने गरेपनि यो वर्ष भने बजारबाट माग नै नआएको गुनसो गरे । मादल व्यवसायी रिमबहादुर कुरुले विदेशी कला, संस्कृति र बाजाहरुलाई प्रोत्साहन गर्ने तर नेपाली मौलिक संस्कृति र बाजाहरुको उचित संरक्षण नहुँदा संस्कृति नै लोप हुँदै जान थालेको बताउनुभयो ।

विगतमा मादलको माग उच्चतम हुने गरेको तर पछिल्लो समय भने माग आउन छाडेको भनाइ व्यवसायी कुरुको छ । मादल विभिन्न जातजातिका कला, संस्कृति अनुसार नेपालीहरुले मात्रै प्रयोग गर्ने गरेको उहाँ बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, ‘‘मादल मुख्य गरेर तिहारमा बढी व्यापार हुने गर्छ तर विगतका वर्षहरुमा जस्तो पछिल्लो समय मादलको व्यापार घट्दै गएको छ । मादल नेपालीहरुले मात्रै प्रयोग गर्ने गर्छन् । यसलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन सक्नुपर्छ । मादलको संरक्षण गर्दै व्यवसायलाई निरन्तरताको लागि विद्यालयहरुमा मादल अनिवार्य गर्नुपर्छ ।’’

कुरुले नेपाली मादललाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउनसके मादल व्यवसायको समेत संरक्षण हुनसक्ने धारणा राख्नुभयो । उहाँले मादल व्यवसायको संरक्षण गर्न सरकारले विद्यालय तहमा नेपाली मौलिक बाजाको विषयमा पाठ्यक्रम नै सामवेश गर्न माग गर्नुभयो ।

सरकारले व्यवसाय सञ्चालनको लागि बैंकको ऋणमा सहुलियत व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो । नेपाली बजारमा मादलको मूल्य १५ सयदेखि छ हजारसम्म पर्ने गरेको र मादल बनाउने सम्पूर्ण कच्चा पदार्थ नेपाली नै प्रयोग हुने गरेको छ ।

‘‘त्यस्तै सरकारले व्यवसाय सञ्चालनको लागि बैंकको ऋणमा सहुलियत दिनुपर्छ । नेपाली बजारमा मादलको मूल्य १५ सयदेखि ६ हजारसम्म पर्छ । मादल बनाउने सम्पूर्ण कच्चा पदार्थ नेपाली नै हुन्छ । पछिल्लो समय मादलको व्यापार तिहारमासमेत हुन छाडेको छ । विगतको तुलनामा अहिले व्यापार नै छैन ।’’ उहाँले भन्नुभयो ।

त्यस्तै, अर्का मादल व्यवसायी विष्णु तामाङले पछिल्लो समय मादलको व्यापार नै हुन छाडेको धारणा राख्नुभयो । उहाँले विशेष गरेर तिहारमा मादलको व्यापार हुने भए पनि अहिले मादलको व्यापार ९० प्रतिशतले कम रहेको बताउनुभयो । नेपाली मादलकोसमेत माग हुन छाडेको अवस्थामा भारतीय मादल नेपालमा बिक्री वितरण हुन थालेको उहाँको भनाइ छ ।

‘‘पछिल्लो समय भारतबाट पनि मादल आउन थालेको छ तर गुणस्तरीय छैन । मादलको संरक्षण र उत्पादनका लागि नेपाली मौलिकतालाई बचाउँदा मादलको पनि संरक्षण हुन्छ । सरकारले नेपाली मौलिक बाचा मादललाई संरक्षण गर्ने भने पनि मादलको लागि प्रयोग हुने काठ तथा छाला गैर कानुनी भन्ने गरिएको छ ।,’’ तामाङले भन्नुभयो, ‘‘त्यसलाई सरकारले रोक्न हुँदैन । काठ प्रयोग गर्दा वन ऐन लाग्छ भन्दै धम्काउने कामसमेत हुँदै आएको छ । त्यसैले सरकारले नेपाली मौलिक वाचाको संरक्षणमा ध्यान दिनुपर्छ । अहिले बजारमा मादल दुई हजारदेखि छ हजारसम्म पर्छ ।’’

उहाँले सरकारले नेपाली मौलिक बाचा मादललाई संरक्षण गर्नेको लागि मादल बनाउन प्रयोग हुने सामग्रीमा सहजता बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘विशेष गरेर हिन्दुहरुको महान चाड तिहारमा देउसी, भैलो खेल्न चलन रहेको छ । त्यसको लागि मादल प्रयोग हुँदा बजारमा मादलको माग रहेको छ । त्यो बाहेक विभिन्न जातजातिहरुले मनाउने पर्वहरुमा पनि मादल माग हुन्छ । मादल नेपालमा नै उत्पादन हुने हो ।’’

गाउँ तथा शहरमा देउसी भैलो खेल्नेले मादल किन्ने भए पनि अहिले मादलको ठाउँमा साउण्डसिस्टम प्रयोगमा आउँदा मादल व्यवसाय सङ्कटमा परेको छ । अहिले मादल किन्नेभन्दा ठूलाठूला स्पिकर किन्ने र स्पिकरमा गीत बजाउने हुँदा तिहारको गीतसमेत गाउन छाडिएको छ ।

पछिल्लो समय सूचना र प्रविधिको विकासका कारण मादल बिक्रीमा कमी आएको देखिन्छ । नेपाली मौलिकता र परम्परासँग जोडिएको बाजा मादल व्यवसाय आधुनिकतासँगै सङ्कटमा परेको छ ।

सम्वन्धित शिर्षक

सब्स्क्राईब गर्नुहोस्

साझा खबरलाई सब्स्क्राईब गरि तपाईले अब आफ्नै इमेलमा महत्वपूर्ण समाचारहरु पाउनु हुनेछ ।