देशभर एक हजार ५५० भन्दा बढी पक्की पुल निर्माण हुँदै

  असोज १७, २०७९

काठमाडौं, असोज १७ : देशमा पक्की पुल निर्माणको अभियान चलेको छ । पछिल्लो समय देशमा नयाँ सडकहरु निर्माण तथा विस्तारको क्रममा विभिन्न ठाउँमा रहेका नदी तथा खोलाहरुमा पक्की पुलहरु निर्माणको क्रम बढेको हो । हाल देशभर एक हजार ५५० भन्दा बढी पक्की पुल निर्माणको क्रममा छन् ।

सडक विभाग अन्तर्गतको पुल महाशाखाका प्रमुख इन्जिनियर उमेश बिन्दु श्रेष्ठका अनुसार अहिले देशभर ठेक्का लाग्न बाँकी र लागेका गरी  एक हजार ५६५ वटा पक्की पुल निर्माणको क्रममा छन् । मुख्य राजमार्ग र सहायक राजमार्गमा यी पुलहरु बन्न लागेको उहाँले बताउनुभयो । जसअन्तर्गत राजमार्गमा बन्न लागेका रणनैतिक सडकअन्तर्गतका ६१० वटा पुल छन् । स्थानीय सडक अन्तर्गतका ९५५ वटा पुल बन्दैछन् ।

यी पुलहरुमध्ये कतिपय निर्माणकै क्रममा छन् भने कतिपय टेण्डर प्रक्रियामा छन् । केहीको टेण्डर हुन बाँकी छ । जसमध्ये निर्माणाधीन पुलको सङ्ख्या ४९१ छ । ठेक्का लाग्न बाँकी रहेको पुलको सङ्ख्या एक हजार १७ छ । रणनैतिक सडक अन्तर्गत ५० वटा पुल निर्माण भएका छन् भने स्थानीय सडक अन्तर्गत १८७ पुल निर्माण सम्पन्न भइ सवारी गुडिरहेका छन् ।

देशभरका ३०० वटा पुल पु्नर्निर्माण गर्नुपर्ने देखिएकामध्ये गत आ.व.सम्म २८२ वटा पुलहरु पुनर्निर्माण गरेर सकिएको उहाँको भनाइ छ । रुग्ण रहेका ७९ वटा पुल बन्न नसकेकामध्ये गत आवसम्ममा यसको सङ्ख्या ३४ मा झरेको छ । महाशाखाका प्रमुख ई. श्रेष्ठका अनुसार ठेकेदार कम्पनीको लापरबाही र विभिन्न खरिद प्रक्रियामा समस्या भएका कारण यी ३४ वटा पुलको आयोजना रुग्ण अवस्थामा छन् । अबको सात महिनाभित्र यीमध्ये १० वटाको काम पनि सम्पन्न हुने उहाँको भनाइ छ ।

ठेकेदारको लापरबाही र विभिन्न खरिद प्रक्रियाले हाल ३४ वटा पुलहरु लामो समयदेखि अलपत्र छन् । ठेकेदार कम्पनीले विभिन्न बहाना देखाएर काममा ढिलाइ गर्दा पुलहरु रुग्ण हुन पुगेका हुन उहाँले भन्नुभयो, ‘यी ३४ वटा पुलमध्ये १० वटा पुलहरुको निर्माण सात महिनाभित्र सम्पन्न गर्ने लक्ष्य छ ।’ निर्माणको जिम्मा पाएका ठेकेदारले समयमा काम नसकिदँदा, पटक पटक समय थप्दा पनि अनेक बहाना बनाएर पुल निर्माण कार्य अलपत्र पार्दा लागत र समय दुवै बढ्दैगएको उहाँको भनाइ छ । जसका कारण केही निर्माण कम्पनीहरुको ठेक्का समेत तोडिएको छ ।

पुल निर्माणमा लापरबाही र कमसल सामानको प्रयोग गरे बापत पप्पु, नीलगिरी कम्पनीलाई कारबाही  गरिएको उहाँले बताउनुभयो । पप्पु कन्स्ट्रक्सन र नीलगिरी कन्स्ट्रक्सनले पुल निर्माणमा लापरबाही गरेपछि यी दुई कम्पनीलाई कारबाही गरिएको छ । सकेसम्म म्याद थप गरेर काम गरिरहेकै निर्माण कम्पनीले काम सम्पन्न गरोस् भनेर सयम दियों, तर काम सोचेजस्तो नगर्ने, कमसल काम गर्नेगरेको भेटिएपछि निर्माण कम्पनीलाई कारबाही गर्ने गरिएको उहाँले बताउनुभयो ।

पुल निर्माण भइसकेपछि गुणस्तर जाँचगर्दा कमजोर गुणस्तरको भएको पाइएका कारण केही कम्पनीलाई कारबाही गरिएको हो । त्रियुगा नदी र कमला नदीमाथि बनेका पुलहरु निर्माणको क्रममा त्रुटि भेटिएपछि पप्पु कन्स्ट्रक्सनलाई कारबाही गरेपछि यसको प्रक्रिया रोकिएको छ  । बन्दै गरेका पुलहरुमध्ये राजमार्गमा बन्ने पुलहरु चार लेनका हुनेछन् भने अन्य स्थानीय सडकमा बन्दैगरेका पुलहरु दुई लेनका हुने निर्माण कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया