अनुप स्मृति गोल्डकप फुटबलको तेस्रो संस्करण पुस दोस्रो साता

  असोज १६, २०७९

खोटाङ, असोज १६ : खोटाङमा सञ्चालन हुँदै आएको सर्वाधिक राशिको अनुप स्मृति आमन्त्रित गोल्डकप फुटबलको तेस्रो संस्करण आगामी पुसमा आयोजना गरिने भएको छ । विसं २०६९ जेठ १ गते ट्र्याक्टरले किच्दा ज्यान गुमाएका माउण्ट एभरेष्ट बोर्डिङ स्कुलका छात्र अनुप राईको स्मृतिमा आगामी पुस १८ देखि २४ गतेसम्म गोल्डकपको तेस्रो संस्करण आयोजना गरिएको हो ।

दिक्तेलको माटीकोरे खेलमैदानमा सञ्चालन हुने गोल्डकपमा प्रथम र दोस्रो स्थान प्राप्त गर्ने टोलीले क्रमशः रु दुई लाख एक हजार एक सय ११ र रु एक लाख एक हजार एक सय ११ नगदका साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै दुई सेमिफाइनलिष्ट दुई टोलीले नगद रु २५–२५ हजारका साथमा प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिताको मूल आयोजक समिति संयोजक सागर जोशीले बताउनुभयो ।

यस्तै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट टोली प्रशिक्षकले नगद रु पाँच हजार पाँच सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । अनुशासित टोलीले नगद रु पाँच हजार पाँच सय ५५ का साथमा ट्रफी र प्रमाणपत्र पाउने पत्रकार सम्मेलनमार्फत जनाइएको छ ।

मेन अफ द टुर्नामेन्ट र सर्वाधिक गोलकर्ताले नगद रु सात हजार पाँच सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । आयोजकका अनुसार हरेक प्रतियोगिताका म्यान अफ द म्याचले नगद रु दुई हजार पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा बढीमा १२ टोलीको सहभागिता रहने अनुमान गरिएको छ । प्रतियोगिता सञ्चालनका लागि करिब रु २४ लाख ५२ हजार छ सय ५२ खर्च लाग्ने अनुमान गरिएको सहसंयोजक सगुन ताम्राकारले बताउनुभयो ।

विसं २०७३ चैत २३ गतेदेखि २७ सम्म अनुप स्मृति गोल्डकपको पहिलो र २०७५ वैशाख २६ देखि ३१ गतेसम्म दोस्रो संस्करण आयोजना गरिएको थियो । पहिलो र दोस्रो संस्करण प्रत्येक वर्ष गरिए पनि विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण तेस्रो संस्करण लम्बिएको हो ।

अनुप स्मृति गोल्डकपलाई क्रमशः राष्ट्रव्यापी बनाउँदै ‘ए’ र ‘बी’ डिभिजन लिगका खेलाडीलाई स्थानीय मैदानमा उतार्ने आयोजकको लक्ष्य छ । दुर्घटनामा ज्यान गुमाएका छात्र अनुपको सम्झना र खेल र खेलाडीको व्यावसायिक विकासका लागि गोल्डकपको अवधारणा अघि सारिएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया