प्राधिकरणले जापानको सहयोगमा सहरी क्षेत्रको विद्युत् प्रसारण विस्तार गरिँदै

  असोज ०५, २०७९

काठमाडौं, असोज ५ : नेपाल विद्युत् प्राधिकरणले जापान सरकारको सहुलियतपूर्ण ऋणमा काठमाडौँ उपत्यका र पोखराको सहरी क्षेत्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली विस्तार तथा सुधार गर्ने भएको छ ।

जापान सरकारबाट प्राप्त हुने करिब १४ अर्ब दुई करोड रुपियाँ (१५९.०१ करोड जापानी येन) बाट १३२ केभी क्षमताका ५ वटा नयाँ सबस्टेसन निर्माण गरिने छ । सहरी क्षेत्रमा १५ किलोमिटरभन्दा बढी १३२ केभी प्रसारण लाइनलाई भूमिगत गरिने छ । जापानको सहयोगमा काठमाडौँ उपत्यकाको थापाथली, महाराजगन्ज, राजदरबार तथा सिरुटार र पोखराको बिरौटामा १३२/११ केभीका सबस्टेसन निर्माण गरिने छन् ।

सहरी प्रसारण तथा वितरण प्रणाली सुधार आयोजना कार्यान्वयनका प्राप्त हुने सहुलियतपूर्ण ऋणको वार्षिक ०.०१ प्रतिशत ब्याजदर, ३० वर्षको भुक्तानी र १० वर्षको ग्रेस अवधि रहेको छ । आयोजनाको कार्यान्वयनबाट काठमाडौँ र पोखरा लगायतका सहरमा प्रसारण चुहावट घट्ने, वितरण प्रणालीको क्षमता विस्तार हुने, विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुने छ ।

आयोजना कार्यान्वयनका लागि बुधवार नेपाल सरकारकारतर्फबाट अर्थ सचिव कृष्णहरि पुष्कर र जापान सरकारका तर्फबाट नेपालका लागि जापानका राजदूत किकुता युताकाले आदानप्रदान पत्र तथा रेकर्ड अफ डिस्कसनमा हस्ताक्षर गर्नुभयो । त्यसैगरी,  ऋण सम्झौतामा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहयोग तथा समन्वय महाशाखाका सहसचिव ईश्वरीप्रसाद अर्याल र जाइका नेपालका प्रमुख प्रतिनिधि ओकुबो अकिमित्सुले हस्ताक्षर गर्नुभयो ।

आयोजनामार्फत काठमाडौंको टेकुस्थित सबस्टेसनबाट करिब २ किलोमिटर १३२ केभी प्रसारण लाइनलाई भूमिगत गरी थापाथलीमा रहेको स्वीचिङ स्टेसनमा ल्याइने छ । थापाथली स्वीचिङ स्टेसनलाई हटाएर त्यहाँ १३२/११ केभीको सबस्टेसन निर्माण गरिने छ । सबस्टेसनको क्षमता ९० एमभिए रहने छ । सबस्टेसनबाट विद्युत् वितरणका लागि ९/१० वटा फिडर निकालिने छन् ।

बालाजु सबस्टेसनबाट १३२ केभी प्रसारण लाइनलाई ९ किलोमिटरभन्दा बढी भूमिगत केबलमार्फत महाराजगन्ज हुँदै राजदरबार ल्याइने छ । महाराजगन्ज र राजदरबारमा १३२/११ केभीका एक/एक सबस्टेसन निर्माण हुनेछन् । सबस्टेसनको क्षमता ६०/६० एमभिए रहने छ । यसैगरी, भक्तपुरको सिरुटारमा १३२/११ केभीको सबस्टेसन निर्माण निर्माण गरिने छ । सबस्टेसनको क्षमता ६० एमभिए रहने छ । तीन वटै सबस्टेसनहरुबाट स्थानीय रूपमा विद्युत् वितरणका लागि ९/१० वटा फिडर निकालिने छन् ।

पोखराको विद्युत् आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन पोखरा महानगरपालिका–१७ बिरौटामा १३२/११ केभी सबस्टेसनको निर्माण गरिने छ । प्राधिकरणले कालीगण्डकी–लेखनाथ १३२ केभी प्रसारण लाइनबाट प्रवाह भएको विद्युतलाई बिरौटामा सबस्टेसन बनाएर पोखराको सहरी क्षेत्रमा आपूर्ति गर्ने छ । प्रसारण लाइनबाट सबस्टेसनसम्म करिब ६ सय मिटर लाइनलाई भूमिगत गरिने छ । सबस्टेसन निर्माणका लागि बिरौटास्थित फेवा विद्युतगृहको जमिन प्रयोग गरिने छ ।

तपाईको प्रतिक्रिया