झापाबाट उम्मेदवार सिफारिस हुनेमा राजनीतिक दलका पदाधिकारी र पूर्व मन्त्री धेरै

  भदौ २२, २०७९

दमक, भदौ २२ : पाँचवटा निर्वाचन क्षेत्र रहेको झापामा राजनीतिक दलहरुले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार चयन प्रक्रियालाई तिब्रता दिएका छन् । झापामा उम्मेदवार सिफारिस हुनेहरु राजनीतिक दलका पदाधिकारी तथा पूर्व मन्त्रीहरुको संख्या उल्लेख्य रहेको पाईएको छ ।

माओवादी केन्द्रले झापाको क्षेत्र नं. १ बाट पार्टी उपमहासचिव एवं पूर्व मन्त्री राम कार्कीलाई प्रतिनिधि सभा उम्मेदवारको रुपमा सिफारीस गरेको छ । उहाँ हालपनि यस क्षेत्रको प्रतिनिधि सभा सदस्य रहनु भएको छ । यस क्षेत्रबाट यसभन्दा अघि नेपाली काँग्रेसले पार्टीका महामन्त्री विश्वप्रकाश शर्मालाई सर्वसम्मत सिफारिस गरेको थियो ।

नेकपा एमालेले पार्टीका केन्द्रिय सदस्य समेत रहेका संविधान सभा सदस्य रविन कोइरालाको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको छ । प्रमुख तीन राजनीतिक दल एमाले, काँग्रेस र माओवादी केन्द्रले यस क्षेत्रमा प्रतिनिधि सभा सदस्यका लागि सर्वसम्मत रुपमा नाम सिफारिस गरेकाछन् ।

झापाको क्षेत्र नं. २ मा पनि पार्टीका प्रभावशाली नेता तथा पूर्व मन्त्रीहरु प्रतिनिधि सभामा सिफारिस भएका छन् । नेकपा एमालेबाट मन्त्री समेत भईसकेका पुर्व महान्याधिवक्ता अग्नि खरेल, एमालेको प्रदेश १ इन्चार्ज देवराज घिमिरे, अहिले पनि प्रतिनिधि सभा सदस्य रहनु भएकी अन्तराष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा खरेल सहितको नाम प्रतिनिधि सभा सदस्यम सिफारिस भएको छ ।

नेपाली काँग्रेसले पनि यहाँ प्रभावशाली नेताहरुको नाम सिफारिस गरेको छ । पूर्व मन्त्री एवं काँग्रेस नेतृ सरिता प्रसाईं, पूर्व मन्त्री केशवकुमार बुढाथोकी, संविधान सभा सदस्य सुधिरकुमार सिवाकोटी लगायतको नाम काँग्रेसले सिफारिस गरेको हो । क्षेत्रीय कमिटीबाट आएको नाम जस्ताको त्यस्तै प्रदेश कमिटीमा पठाईएको नेपाली काँग्रेस झापाका सचिव कृष्ण हुँमागाईले बताउनुभयो ।

क्षेत्र नं. ३ मा नेपाली काँग्रेसका प्रभावशाली नेता एवं पूर्व उपप्रधान तथा गृहमन्त्री कृष्णप्रसाद सिटौलाको एकल नाम उक्त पाटीको क्षेत्रीय समितिले सिफारिस गरेको छ । यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नाम सिफारिस गरेको छ । लिङ्देनले प्रतिनिध सभा सदस्यबाट राजिनामा दिनु भएको छ । यस क्षेत्रमा नेकपा एमालेले पार्टीका केन्द्रीय सदस्य तथा मेडिकल व्यवसायी दुर्गा प्रशाई सहितको नाम प्रतिनिधि सभा सदस्यमा सिफारिस गरेको छ ।

झापाको क्षेत्र नं. ५ बाट नेकपा एमालेले पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वसम्मत सिफारिस गरेको छ । नेपाली काँग्रेसले पहिलो संविधान सभा निर्वाचनमा ओलीलाई हराउने विश्वदीप लिङ्देन, समानुपातिक तर्फबाट हाल प्रतिनिधि सभा सदस्य रहनु भएकी महेन्द्रकुमारी सुब्बा, अघिल्लो निर्वाचनमा ओलीसँग प्रतिस्पर्धी रहनु भएका खगेन्द्र पाण्डव अधिकारी सहितको नाम सिफारिस गरेको छ ।

झापाको क्षेत्र नं. ४ बाट नेकपा एमालेले हाल प्रतिनिधि सभा सदस्य समेत रहेका नेपाल उद्योग तथा व्यावसायी महासंघका केन्द्रीय अध्यक्ष एलपी साँवा, १ नम्बर प्रदेशका पूर्व मन्त्री हिराकुमार थापा, शिवसताक्षी नगपालिकाका पूर्व प्रमुख चन्द्रकुमार शेर्मा सहितको नाम सिफारिस गरेको छ । यस क्षेत्रमा नेपाली काँग्रेसले सर्वसम्मत रुपमा जिल्ला पार्टी अध्यक्ष देउकुमार थेवेको एकल नाम सिफारिस गरेको छ ।

नेपाली काँग्रेस र नेकपा एमालेले जिल्लाका सवै निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका उम्मेदवारहरुको नाम सिफारिस गरेर माथिल्लो तहमा पठाएको छ  । माओवादी केन्द्र र राप्रपा नेपालले भने उम्मेदवारहरुको नाम सिफारिस गर्ने काम सकेको छैन । आफुहरु छलफल र प्रक्रियामा रहेको माओवादी  केन्द्रका नेता गगन पुरीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया