प्रवर्द्धक सेयर बिक्री नहुने व्यवस्था स्थगित

  भदौ २१, २०७९

काठमाडौँ, भदौ २१ : जलविद्युत् आयोजनाको प्रवर्द्धकको सेयर निश्चित अवधिसम्म बिक्री वितरण गर्न नपाउने व्यवस्थासम्बन्धी सुझाव हाललाई कार्यान्वयन नहुने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले कार्यान्वयन नगर्ने निर्णय गर्नुभएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका कार्यवाहक अध्यक्ष गणेश कार्कीले जानकारी दिनुभयो । सरकारले ऊर्जा उद्यमीको मर्कालाई महसुस गरी सो अंश कार्यान्वयन नगर्ने व्यवस्था गरी उद्यमीलाई बचाएको उहाँले बताउनुभयो ।

इपानले मन्त्री भुसालको सो कदमको स्वागत गर्दै सरकारले आगामी दिनमा ल्याउने कुनै पनि नीति, नियमको निर्माणमा इपानलाई सहभागी गराउन पनि माग गरेको छ । साउन तेस्रो साता ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ल्याएको जलविद्युत् आयोजनाको विकास, सर्वेक्षण एवं उत्पादन अनुमतिपत्र निर्देशिका तथा विद्युत् खरिदबिक्री सम्झौतामा अवलम्बन गर्नुपर्ने नीतिगत व्यवस्थासम्बन्धी प्रतिवेदन, २०७९ मा भएको प्रवद्र्धकले सेयर बेच्न नपाउने व्यवस्था तत्काल कार्यान्वयन नहुने भएको हो ।

प्रतिवेदनमा जलविद्युत् आयोजनाको प्रवर्द्धकको सेयर १० वर्षसम्म बिक्री गर्न र धितो राखी ऋण लिन नपाउने व्यवस्था उल्लेख थियो । यो व्यवस्था कार्यान्वयन गर्न हाल कानुनी अड्चन रहेको भन्दै मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्पmत कार्यान्वयन रोकेको हो । निजी प्रवर्द्धकले सो प्रावधानले लगानीको वातावरण बिग्रने र सम्पत्तिमाथिको अधिकारसमेत हनन भएको भन्दै विरोध गर्दै आएका थिए ।

तपाईको प्रतिक्रिया