गोठेमल छोडेर रासायनिकतर्फ किसान

  भदौ १८, २०७९

पाल्पा, भदौ १८ : विगतका वर्षको तुलनामा पाल्पामा रासायनिक मलको प्रयोग बढेको छ । यसअघि गोठेमल र अन्य प्राङ्गारिक मलको प्रयोग गर्दै आएका किसानले अहिले रासायनिक मलको प्रयोग बढाएका हुन् ।

पाँच–सात वर्षअघिसम्म अधिकांश किसानले मकै, गहुँ तथा अन्य तरकारी खेतीमा प्रयोग गर्न गोबर र पातपतिङ्गरबाट मल बनाउँदै आएका थिए । अहिले सबैजसो किसानले रासायनिक मलको प्रयोग बढाएको बगनासकाली–३, शिखरका किसान कमल चिदीले बताउनुभयो । “पहिले हरेक घरमा तीन-चारवटा गाईबस्तु हुन्थ्यो, अहिले सबैजसोको घरमा पशुपालन नै हुँदैन,” उहाँले भन्नुभयो ।

गाउँघरमा किसानले सोत्तर, सेउला, पातपतिङ्गर जम्मा गरेर कुहाउने र मल बनाउने प्रचलन थियो । यस्तो प्रचलन हराइसकेको छ । किसानले गाईबस्तु नपाल्ने र थोरै खेतबारीमा खेती गर्ने भएकाले युरिया, डीएपी, पोटासजस्ता रासायनिक मल नै प्रयोग गर्न थालेको माथागढी–३, कसेनीमा रहेको माडी कसेनी कृषि सहकारी संस्थाका अध्यक्ष टीकाराम रानाले बताउनुभयो ।

जिल्लास्थित कृषि सामग्री कम्पनी लिमिटेड, पाल्पाले समेत पाल्पामा रासायनिक मलको माग हरेक वर्ष बढेको जनाएको छ । यस जिल्लाका विभिन्न सहकारी संस्थाबाट २५० मेट्रिक टनभन्दा बढी युरिया मलको माग आएको कृषि सामग्री कम्पनी, पाल्पाका प्रमुख सुमन पन्थीले बताउनुभयो ।

जिल्लामा अहिले किसानको मागको ५० प्रतिशत मात्र मल आएको उहाँले बताउनुभयो । जिल्लाभरका ६१ सहकारी संस्थामार्फत वितरण गरिएको मल सबै खेतीका लागि पर्याप्त नरहेको किसानको भनाइ छ । मागअनुसार मल नपाउँदा कालोबजारी गरेर ल्याएको मल किन्न बाध्य भएको किसानको गुनासो छ ।

तपाईको प्रतिक्रिया