कुलपानीमा आन्तरिक पर्यटकको चहलपहल

  भदौ १७, २०७९

देउखुरी, भदौ १७ : दाङको गढवा गाउँपालिका वडा नम्बर १ बडाहरा गाउँमा रहेको कुलपानी हरितपार्क यतिखेर पर्यटकको आकर्षक गन्तव्यको रूपमा विकास हुँदै गएको छ ।

प्रवेशद्वारमा हालै प्रतिमा स्थापना गरिएका बाघ, चितुवा, जरायो, मयुरले पार्कको सुन्दरता बढाएको हो । त्यसैगरी, निर्माणाधीन काठको भ्यूटावर यस क्षेत्रको सबैभन्दा आकर्षक स्थान हो ।

कुलपानी सामुदायिक वनभित्र रहेको कुलपानी हरितपार्क क्षेत्रभित्र विभिन्न मठमन्दिर, हरियाली मैदान र ताल पनि निर्माण भएका छन् ।

पछिल्लो समय दैनिक पर्यटकको चहलपहल बढ्दै गएको छ । भ्यूटावरबाट यस क्षेत्रलगायत आसपासको दृश्यावलोकन गर्न सकिन्छ ।

बिदामा घुम्ने उपयुक्त गन्तव्यको रूपमा विकास भएको र सम्पन्न नहुँदै टावरबाट दृश्यावलोकन गर्न आन्तरिक पर्यटक आउने गरेको गढवा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बाबुराम अधिकारीले बताउनुभयो ।

गढवा गाउँपालिका वडा नम्बर १ बडाहरा गाउँस्थित कुलपानी सामुदायिक वनभित्र वडाको २५ लाख रुपियाँ लागतमा कुलपानी हरितपार्क निर्माण गरिएको छ ।

साथै, सामुदायिक वन उपभोक्ता समितिको आन्तरिक श्रोतबाट पार्क निर्माणमा लगानी गरेको छ ।  उक्त स्थानमा व्यक्तिगत रूपमा पनि स्थानीयले सहयोग गर्दै आइरहेका छन् ।

लामो समयसम्म कोरोना महामारीका कारण सुनसान रहेको कुलपानी हरितपार्क क्षेत्रमा पर्यटक भित्रिन थालेपछि व्यापार व्यवसाय पनि बढ्दै गएको पाइएको छ । कोरोनामा सङ्क्रमित घटेर निषेधाज्ञा खुकुलो भएसँगै हरितपार्क अवलोकन गर्न आउने पर्यटक भित्रिन थालेका हुन् ।

यस क्षेत्रमा दाङलगायत आसपासका जिल्लाबाट दैनिक दुईसय बढीको सङ्ख्यामा मानिसहरू आउने गरेको उहाँले बताउनुभयो । शनिबार र बिदाको दिन यो सङ्ख्या अझ बढी हुने गरेको छ । निःशुल्क रूपमा अवलोकन गर्न पाइने उक्त पार्क सबैको रोजाईमा पर्न थालेको छ ।

तपाईको प्रतिक्रिया