मस्को, भदौ १५ : तत्कालीन सोभियत सङ्घका पूर्वराष्ट्रपति मिखाइल गोर्बाचेभको मङ्गलबार ९१ वर्षको उमेरमा निधन भएको मस्कोस्थित अस्पतालका अधिकारीले बताएका छन् । लामो समयदेखि बिरामी उहाँको उपचारको क्रममा निधन भएको यहाँस्थित केन्द्रीय क्लिनिकल अस्पतालले बताएको छ ।
रक्तपात बिना नै शीतयुद्धको अन्त्य गर्न सफल तर सोभियत सङ्घको पतन रोक्न असफल नेता गोर्बाचेभ विश्वकै विशाल राष्ट्रको अन्तिम राष्ट्रपति हुनुहुन्थ्यो । संयुक्त राज्य अमेरिकासँग हतियार कटौती सम्झौता र पश्चिमा शक्तिराष्ट्रहरूसँगको साझेदारीमा विभाजित युरोपलाई एकताको सूत्रमा आबद्ध गर्न तथा जर्मनीको एकीकरणमा उहाँको योगदान स्मरणीय छ ।
अमेरिका राष्ट्रपति रोनाल्ड रेगन र जर्ज बुशसँगका शिखरवार्ता र तिनले आणविक हातहतियारको दुइदेशीय होडबाजी घटाउन मद्दत गरेकाले उहाँ विश्वरङ्गमञ्चमा सधैँ चर्चाको चुलीमा रहनुभएको थियो ।
‘ग्लास्तोनास्तो पेरेस्त्रोइका’ का प्रवर्तक उहाँ देशको आन्तरिक सुधारका निम्ति थाल्नुभएका कामका कारण अन्ततः विशाल सोभियत सङ्घलाई टुक्रिनबाट जोगाउन अक्षम हुनुभयो । तानाशाही सोभियत राज्यको पतन, पूर्वी युरोपेली राष्ट्रहरूलाई रूसी प्रभुत्वबाट मुक्त गर्ने र दशकौंदेखि पूर्व–पश्चिम आणविक टकरावको अन्त्यको परिणामस्वरूप देशा १५ गणराज्यमा विभक्त भयो । सात वर्षभन्दा कम समय सत्तामा रहे पनि राष्ट्रपति गोर्भाचेभले परिवर्तनको रोमाञ्चक शृङ्खला प्रस्तुत गर्नुभएको थियो ।
सन् १९९१ को अगस्टमा उहाँका विरुद्धमा भएको विद्रोहको अन्ततः सोही वर्षको डिसेम्बर २५ मा उहाँको राजीनासँगै पटाक्षेप भयो । संयोग पनि कस्तो अगस्ट महिनामा नै उहाँको अवसान भएको छ । आणविक शक्ति सम्पन्न सोभियत सङ्घमा आन्दोलन दबाउन बल प्रयोग गर्दा अराजकता बढ्ने डरले आफूले त्यसो नगरेको सत्ताच्युत भएको झण्डै २५ वर्षपछि एसोसिएटेड प्रेसलाई बताउनुभएको थियो । नोबेल शान्ति पुरस्कारप्राप्त नेता गोर्बाचेभ सामान्य किसानको छोरो हुनुहुन्थ्यो । सन् १९५२ मा कम्युनिष्ट पार्टी अफ सोभियत सङ्घको सदस्यता लिनुभएका उहाँ सन् १९८० मा उक्त पार्टीको सबैभन्दा कान्छो पूर्ण पोलिटव्यूरो सदस्य हुनुहुन्थ्यो ।
नेता गोर्बाचेभको निधनमा विश्व नेताहरूले दुःख व्यक्त गर्दै शोक प्रकट गर्नुभएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले उहाँलाई बीसौं शताब्दीका महान् नेताको संज्ञा दिँदै उहाँका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ । विश्व इतिहासमा उहाँको ठूलो प्रभाव रहेको राष्ट्रपति पुटिनले उल्लेख गर्नुभएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार राष्ट्रपलिते बिहीबार उहाँको परिवार र साथीहरूलाई शोकको टेलिग्राम पठाउनु हुनेछ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले गोर्बाचेभलाई ‘उल्लेखनीय दृष्टि भएको व्यक्ति दुर्लभ नेता’ भन्नुभएको छ । उहाँले आफ्नो सम्पूर्ण जीवनलाई जोखिममा पार्ने साहस भएका स्वतन्त्रता पक्षधर नेता हुनुहुन्थ्यो भन्नुभएको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले शीतयुद्धको शान्तिपूर्ण अन्त्य गर्ने दयालु राजनेताका रूपमा गोर्बाचेभलाई सम्झदै उहाँ इतिहासको सिलसिला परिवर्तन गर्ने नेता हुनुहुन्थ्यो भन्नुभएको छ । इजरायलका राष्ट्रपति आइज्याक हर्जोग, जर्मनीका राष्ट्रपति फ््याङ्क वाल्टर स्टाइनमेयर, चान्सलर ओलाफ स्कोल्ज, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँ, निवर्तमान बेलायती प्रधानमन्त्री बोरिस जोन्सन,जापानका प्रधानमन्त्री फुमियो किसिदा, अमेरिकाका पूर्वविदेशमन्त्री कोन्डोलिजा राइसलागयतले दिवङ्गत नेताको योगदानको स्मरण गर्दै श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।
विश्व नेताहद्वारा गोर्बाचोभको स्मरण
सोभियत संघका अन्तिम नेता मिखाइल गोर्बाचोभको निधनलाई विश्वलाई परिवर्तन गर्ने र महाशक्तिहरुबीच शान्तिको आशा जगाउने दुर्लभ नेताको निधनप्रति विश्वले उहाँको निधनप्रति शोक व्यक्त गरिरहेको छ ।
उहाँलाई सोभियत सङ्घकालिन कम्युनिस्ट शासित युरोपेली राष्ट्रहरुमा प्रजातन्त्र पुनस्र्थापना गर्ने नेताका रूपमा स्मरण गर्ने जति थिए त्यति नै सङ्ख्याले उहाँलाई १९९१ मा सोभियत संघको पतन र महाशक्तिका रूपमा उसको पतनका लागि दोषी ठहर्याएका थिए ।
मङ्गलबार ९१ वर्षको उमेरमा निधन भएका उनलाई धेरै देशवासीले सन् १९९१ मा सोभियत संघको पतन र महाशक्तिका रूपमा उसको पतनका लागि दोषी ठह¥याएका थिए । सोभियत इतिहासबाट उदाएको रुसी राष्ट्र१५ वटा नयाँ राष्ट्रहरूको निर्माणसँगै आकारमा खुम्चिएको थियो ।
गौरव र शक्तिको ह्रासले अन्ततः भ्लादिमिर पुटिनको उदय भएको थियो, जसले पछिल्लो शताब्दीको एक चौथाइ समयदेखि रूसलाई यसको पूर्व महिमा र त्यसभन्दा बाहिर पुर्नस्थापित गर्न प्रयास गरिरहनुभएको छ ।
‘दशकौंको कडा राजनीतिक शासनपछि उहाँले लोकतान्त्रिक सुधारलाई अङ्गीकार गरेको बताउने गरिएको छ । उहाँले खुलापन र पुनर्संरचना ( ग्लास्नोस्ट र पेरेस्त्रोइका) केवल नाराको रूपमा होइन, तर सोभियत युनियनका जनताका लागि धेरै वर्षको अलगाव र अभावपछि अगाडिको मार्गको रूपमा विश्वास गर्नुभयो,” राष्ट्रपति जो बाइडेनले गोर्भाचोभको सम्झना गर्दै भन्नुभएको छ ।
उहाँले भन्नुभयो, “यी एक दुर्लभ नेताको कार्यहरू थिए । एक फरक भविष्य सम्भव छ भनेर हेर्नको लागि कल्पनासँगै यसलाई प्राप्त गर्नको लागि आफ्नो सम्पूर्ण जीवनको लगानीको जोखिमको साहस उहाँले गर्नुभयो । यसको परिणाम एक सुरक्षित विश्व र लाखौं मानिसहरूका लागि ठूलो स्वतन्त्रता थियो ।”
गोर्बाचोभले सन् १९९० मा शीतयुद्ध अन्त्य गर्न भूमिका निर्वाह गरेबापत नोबेल शान्ति पुरस्कार जित्नुभएको थियो । तर विदेशमा व्यापक रूपमा सम्मानित भए तापनि उहाँको उक्त कदमका लागि स्वदेशमा भने नरूचाइएको पाउन सकिन्छ ।
रूसी नेता पुटिनले गोर्बाचेभले विश्व इतिहासमा गहिरो प्रभाव पारेको स्वीकार्नु भएको छ ।
“ठूलो मात्रामा विदेश नीति, आर्थिक र सामाजिक चुनौतीका बीच कठिन र नाटकीय परिवर्तनका बीच उहाँले देशको नेतृत्व गर्नुभयो,” पुटिनले गोर्बाचोभको परिवारप्रति समवेदना व्यक्त गर्दै एक छोटो टेलिग्राम (सन्देश)मा भन्नुभएको छ ।
पुटिनले भन्नुभयो, “गोर्बाचोभले सुधार आवश्यक छ भन्ने महसुस गर्नुभयो र गम्भीर समस्याहरूको समाधान दिने प्रयास गर्नुभयो ।
रूसी अधिकारी र सांसदहरूको प्रतिक्रिया समग्रमा मिश्रित देखिएको छ । उनीहरूले शीतयुद्ध अन्त्य गर्न गोर्बाचेभको भूमिकाको प्रशंसा गरे तर सोभियत संघको पतनका लागि उहाँको निन्दा गरेका छन् ।
क्रेमलिनको प्रमुख पार्टी युनाइटेड रसियाका सदस्य ओलेग मोरोजोभले गोर्बाचोभले रूसको हित विपरीतका गल्तीका लागि ‘पश्चाताप’ गर्नुपर्ने थियो भन्नुभएको छ ।
“उहाँ अन्यायपूर्ण विश्व व्यवस्थाको इच्छुक वा अनिच्छुक सह–लेखक हुनुहुन्थ्यो जुन हाम्रा सैनिकहरू अहिले युद्धभूमिमा लडिरहेका छन्,” मोरोजोभले युक्रेनमा हालको युद्धलाई सङ्केत गर्दै भन्नुभयो ।
विश्वमा गोर्बाचोभलाई मन पराउने र मन नपराउने दुबै धारका मानिस रहेका छन् । उनले जे गरे यसलाई समाजवादी चिन्तकहरूले पतनको रूपमा हेर्ने गरेका छन् भने पश्चिमा राष्ट्रहरू र अमेरिकाले उहाँलाई एक ऐतिहासिक विश्व नेताको रूपमा हेर्ने गरेको छ । समाजवादी सिद्धान्तका हिमायतीहरूले शीतयुद्धको अन्त्य गरेर गोर्भाचोभले विश्वको समाजवादी राजनीतिक मार्गलाई थप कमजोर पारेको बताउने गर्छन् ।
कतिपय विश्वका नेताहरूले उहाँलाई महान् र साहसी नेताको रूपमा वर्णन गर्दै उहाँप्रति श्रद्धाञ्जलि अर्पण गरेभने समाजवादी सिद्धान्तको पैरबी गर्ने मुलुकहरूले उहाँलाई दोस्रो धारमा नै हेर्ने गरेको पाइन्छ ।
सन् १९९० मा गोर्बाचेभलाई देशको एकीकरणका पितामध्ये एक मानिएको जर्मनीमा पूर्वचान्सलर एन्जेला मर्केलले उहाँलाई ‘अद्वितीय विश्व राजनीतिज्ञ’ भनेर सम्मान व्यक्त गर्नुभएको छ ।
“गोर्बाचेवले विश्व इतिहास लेख्नुभयो । सन् १९८९ मा बर्लिनको पर्खाल भत्किएपछि रुसी ट्याङ्क पूर्वी जर्मनीमा पस्न सक्ने डरले आफूलाई डर लागेको स्मरण गर्दै उहाँले भन्नुभएको छ, “एक जना राजनेताले कसरी विश्वलाई राम्रो बनाउन सक्छन् भन्ने कुराको उदाहरण उहाँले दिनुभएको छ ।”
वर्तमान जर्मन चान्सलर ओलाफ सोल्जले गोर्बाचोभले आफ्नो देशको एकीकरणको लागि मार्ग प्रशस्त गरेकोमा प्रशंसा गर्नुभयो भने गोर्बाचेभको मृत्यु उहाँका धेरै उपलब्धिहरू नष्ट भएपछि भएको बताउनुभयो ।
“हामीलाई थाहा छ कि उहाँको मृत्यु यस्तो समयमा भएको छ जब रूसमा लोकतन्त्र मात्र असफल भएको छैन । त्यहाँको वर्तमान स्थितिको वर्णन गर्ने अर्को कुनै तरिका छैन । तर रूस र रुसी राष्ट्रपति पुटिनले युरोपमा नयाँ खाडल कोरिरहेका छन् र छिमेकी देश, युक्रेनविरुद्ध भयानक युद्ध सुरु गरेका छन्,” उहाँले भन्नुभयो ।
बेलायतका निवर्तमान प्रधानमन्त्री बोरिस जोन्सनले पनि वर्तमान द्वन्द्वको स्मरण गर्दै भन्नुभयो, “युक्रेनमा पुटिनको आक्रामकताको समयमा सोभियत समाजलाई खुला गर्ने गोर्बाचोभको अथक प्रतिबद्धता हामी सबैका लागि उदाहरणीय छ ।”
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले गोर्बाचोभलाई ‘शान्तिगामी व्यक्ति’ को रूपमा वर्णन गर्नुभएको छ । उहाँले भन्नुभयो, “उहाँको शान्तिको छनौटले रूसीहरूका लागि स्वतन्त्रताको बाटो खोल्यो । युरोपमा शान्तिका लागि उनको प्रतिबद्धताले हाम्रो साझा इतिहास लाई बदलिदियो ।”
युरोपका अरू मानिसहरूले गोर्बाचोेभको सकारात्मक सम्झनालाई चुनौती पनि दिएका छन् । सन् १९९० को दशकको सुरुमा लिथुआनियाको स्वतन्त्रता आन्दोलनको नेतृत्व गरेका भिटाउटास ल्यान्ड्सबर्गिसका छोरा ग्याब्रिएलियस ल्यान्ड्सबर्गिसले ट्वीट गर्दै भन्नुभएको छ, “लिथुआनियालीहरूले गोर्बाचोभको महिमा गाउने छैनन् ।”
उहाँले भन्नुभयो, “जनवरी १३, १९९१ को बाल्टिक देशमा सयौं लिथुआनियालीहरू देशको स्वतन्त्रता पुनस्र्थापनाको प्रयासलाई दबाउन तैनाथ सोभियत सेनाको विरोध गर्न भिल्नियसस्थित टेलिभिजन टावरमा जाँदाका सम्झनाहरू अझै ताजा छन् ।” त्यसपछि भएको झडपमा १४ सर्वसाधारणको मृत्यु हुनुका साथै १४० भन्दा बढी घाइते भएका थिए । मस्कोले सोही वर्षको अगस्टमा लिथुआनियाको स्वतन्त्रतालाई मान्यता दिएको थियो ।
ल्यान्ड्सबर्गिसले लेख्नुभएको छ, “हाम्रो देश लिथुवानियामा आफ्नो शासनको कब्जा लम्ब्याउनका लागि उनको सेनाले सर्वसाधारणको हत्या गरेको सामान्य तथ्यलाई हामी कहिल्यै बिर्सन सक्दैनौं । तिनका सिपाहीहरूले हाम्रा निहत्था प्रदर्शनकारीहरूमाथि गोली चलाए र उनीहरूलाई आफ्नो ट्यांकमुनि कुल्चिदिए । यसरी नै हामी उनलाई सम्झनेछौं ।”
तर अर्का बाल्टिक नेता लाटभियाका राष्ट्रपति एगिल्स लेभिट्सले गोर्बाचेभको नीतिले तीन बाल्टिक देशहरूको अन्ततः स्वतन्त्रतालाई सक्षम बनाएको उल्लेख गर्नुभएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले गोर्बाचोभलाई “इतिहासको दिशा परिवर्तन गर्ने एक प्रकारको ‘राजनेता’ र ‘शीतयुद्धको शान्तिपूर्ण अन्त्य का लागि अन्य कुनै पनि व्यक्तिभन्दा बढी काम गरेको व्यक्ति’ बताउनुभएको छ ।
“विश्वले प्रतिबद्ध बहुपक्षीयतावादी र शान्तिका लागि अथक हिमायती एक ठूला वैश्विक नेतालाई गुमाएको छ,” संयुक्त राष्ट्रसंघका प्रमुखले जारी गरेको विज्ञप्तिमा भनिएको छ । गोर्बाचोभका समकालीनहरूले शीतयुद्धको अन्त्यलाई आफ्नो एउटा उपलब्धिको रूपमा औंल्याएका छन् ।
“मिखाइल गोर्बाचोभले शीतयुद्धको शान्तिपूर्ण अन्त्यमा महत्वपूर्ण भूमिका खेल्नुभएको पनि मान्ने गरिएको छ । सन् १९९१ देखि १९९३ सम्म सीआईएको नेतृत्व गरेका र पछि अमेरिकी रक्षामन्त्री बनेका रोबर्ट एम गेट्सले भन्नुभयो, “स्वदेशमा उनी ऐतिहासिक महत्वका व्यक्ति थिए, तर उनले चाहेजस्तो गरेनन् ।”
इजरायली प्रधानमन्त्री याइर लापिडले गोर्बाचोभलाई ‘एक साहसी नेता र महान राजनेता’ को संज्ञा दिँदै अन्तिम सोभियत नेताले ‘१९९० को दशकमा इजरायलमा यहूदी आप्रवासनको ठूलो लहरका लागि सोभियत सङ्घको ढोका खोलेको’ बताउनुभयो । (एएफपी/एपी)






