रुपन्देहीको देवदहमा अचम्मको बुद्धकालीन पाकरीको बोट

  भदौ ११, २०७९

रुपन्देही, भदौ ११ : रुपन्देही जिल्लाको देवदह नगरपालिका वडा नम्बर ९ मा रहेको प्रख्यात पाकरीको बोट । यस बोटलाई पाकड वा फलक्षा पनि भनिन्छ । यसको वैज्ञानिक नाम फिकस बेन्जामिना हो ।

निकै नै सुन्दर र आकर्षक यो पाकरीको बोटलाई बुद्धकालीन बोट पनि मानिएको छ । किनभने यही रुखको मुनि बसेर गौतमबुद्धले तपस्या समेत गरेको भन्ने जनविश्वास रहेको छ ।

खेतको मध्य भागमा रहेको यो पाकरीको बोट ७ तहको रहेको छ । यसको अनुमानित गोलाई ८२ फिट र उचाइ ९६ फिट छ । यसका हाँगाहरु चारैतिर फैलिएकाले करिब ५०० वर्गफिट घेरा बनाएको छ ।

यसबोटको सुरक्षाका लागि चारैतिर पर्खालले घेरिएको छ । प्रवेशद्वारबाट भित्र गएपछि निकै नै फराकिलो यो रुख बडो अचम्मको छ । यसका हाँगाहरु निकै मोटा छन् भने जरादेखि हरिया पातहरु देखिन्छन् ।

आश्चर्यको कुरो यसको पातहरु वर्षभरि नै हरिया हुन्छन्, पात सुकेको कहिले पनि देखिँदैन । यस पाकरीको बोटमा कहिले पनि काग, चिल र गिध्दहरु बस्दैनन् । यस रुखमा कुनै पनि चराहरुको गुँड देख्न सकिँदैन । यस बाेटको नजिक हात्तीहरु कहिले पनि जान मान्दैनन् ।  यस रुखमा कुनै पनि किसिमको हानि नोक्सानी पुगेमा अशुभ हुने जनविश्वास भएकाले यसको हाँगा काटने आँट कसैले गर्दैनन् ।

स्थानीयवासीहरुका अनुसार यो बोटलाई बुध्दकालीन बट मानिएकाले स्वदेशी एवम् विदेशी बौद्ध धर्मावलम्बीहरु यहाँ आएर भित्र मन्त्रोच्चचारण, पूजा, पाठसमेत गर्दछन् । यसका साथै दैनिक जसो यो पाकरीको रुख हेर्न आउनेहरुको भीड नै लाग्ने गर्दछ ।

यो रुखलाई नेपालकै सबैभन्दा ठूलो रुख त मानिएको छ तर यो रुख एशियाकै ठूलो रुख पनि भनिएको छ । यो रुख प्रख्यात भएपछि हाल यस ठाउँको नाम पनि पाकरी रहन गयो ।

कोलिय नगर अर्थात् देवदह गौतम बुद्धको मावली एवम् ससुराली प्राचीनस्थल देवदहबाट करिब ५ मिनटको दूरीमा रहेको छ भने देवदह नगरपालिकामा अवस्थित पूर्व पश्चिम राजमार्गबाट दुई किलोमिटर टाढा रहेको छ ।

तपाईको प्रतिक्रिया