सामसुङका टिभी नेपालमै उत्पादन हुने

  भदौ ०९, २०७९

नवलपरासी, भदौ ९ : अब नेपालमै विश्वप्रसिद्ध सामसुङ ब्रान्डका टेलिभिजन उत्पादन हुने भएको छ । विश्वकै एक अग्रणी इलेक्ट्रोनिक्स र स्मार्ट फोनको ब्रान्ड सामसुङले नेपालमा विगत धेरै वर्षदेखिको साझेदार हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा टीभी निर्माण गर्ने भएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले बुधबार नवलपरासीको सुनवल नगरपालिका, भुमहीको गोल्छा कम्पनी परिसरमा संयुक्त रूपमा सो उद्योगको शिलान्यास गर्नुभएको हो ।

समारोहलाई सम्बोधन गर्दै सामसुङ दक्षिण पश्चिम एसियाका क्षेत्रीय अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत केन काङले लामो समयदेखिको साझेदार हिम इलेक्ट्रोनिक्ससँग मिलेर एलईडी टीभी कारखाना खोल्न पाएको खुसी व्यक्त गर्नुभयो ।

सोही अवसरमा गोल्छा अर्गनाइजेसनका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले यो उद्योग नेपालका लागि कोसेढुङ्गा हुने विश्वास व्यक्त गर्नुभयो । “यो कारखानाको स्थापनाले देशमा उद्योगधन्दाको विकाससँगै दक्षता र उत्पादकत्वमा वृद्धि भई विश्व बजारमा थप प्रतिस्पर्धी बनाउन मद्दत पुग्नेछ,” उहाँले भन्नुभयो ।

यो उद्योगले सन् २०२३ देखि उत्पादन सुरु गर्ने लक्ष्य लिएको छ । ५० करोड रुपियाँको लगानीमा यो उद्योग स्थापना हुनेछ । यो उद्योगले प्रतिदिन एक हजार टीभी उत्पादन गर्नेछ । यो उद्योग सञ्चालनमा आएपछि पाँच सय दक्ष जनशक्तिले रोजगारी पाउने गोल्छा अर्गनाइजेसनका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले जानकारी दिनुभयो ।

उद्योग शिलान्यास कार्यक्रममा लुम्बिनी प्रदेशका उद्योगमन्त्री अजय शाही, सामसुङ कम्पनीका कोरियाली प्रतिनिधि, नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया