तत्काल वाम गठबन्धनको सम्भावना छैन : भट्टराई

  भदौ ०५, २०७९

रामेछाप, भदौ ५ : नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले तत्काल वाम गठबन्धन सम्भव नभएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल रामेछापले आइतबार मन्थलीमा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले आगामी निर्वाचनमा वाम गठबन्धन बन्ने वातावरण नरहेको बताउनुभएको हो ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल काँग्रेसको पछि लागेसम्म बाम गठबन्धन सम्भव नहुने बताउनुभयो । सचिव भट्टराईले नागरिकता विधेयकमा गठबन्धन सरकारले फोहोरी राजनीति गरेको टिप्पणी गर्नुभयो ।

विधेयक पुनः संसदले राष्ट्रपतिलाई पठाइसकेकाले अब राष्ट्रपतिलाई विधेयक फिर्ता पठाउने संवैधानिक अधिकार नभएको उहाँले बताउनुभयो । मङ्सिरमा हुने निर्वाचनमा एमालेको बहुमतको सरकार बन्ने र नारिकता विधेयक संशोधन गर्ने भट्टराईले चर्चा गर्नुभयो ।

सचिव भट्टराईले राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकमा राष्ट्रिय सहमति बनाउने र सच्याउने अवसर गठबन्धन सरकारले गुमाएको बताउनुभयो । वैवाहिक अङ्गीकृत नागरिकलाई विना सर्त नागरिकता दिने प्रावधान विश्वका कुनै पनि मुलुकमा नभएको उहाँले प्रष्ट पार्नुभयो । सचिव भट्टराई मन्थली नगर कमिटीको संगठन सुदृढीकरण र शुद्धीकरण कार्यक्रमा प्रशिक्षण दिन रामेछाप आउनुभएको छ ।

तपाईको प्रतिक्रिया