न्यूयोर्कमा छुरा प्रहार गरिएका लेखक भेन्टिलेटरमा ‘बोल्न नसक्ने अवस्थामा’

  साउन २८, २०७९

काठमाडौं, साउन २८ : चर्चित लेखक सलमान रुस्दीमाथि अमेरिकाको न्यूयोर्कमा शुक्रबार आयोजित एक कार्यक्रममा छुरा प्रहार भएपछि उनको अवस्था गम्भीर छ । रुस्दीको अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

हमलाका कारण उनको कलेजोमा गम्भीर असर परेको छ भने उनले एउटा आँखा समेत गुमाउनसक्ने बताइएको छ । उनलाई एक साहित्यिक कार्यक्रममा भाग लिइरहेको अवस्थामा एक व्यक्तिले मञ्चमा उक्लिएर चक्कुले प्रहार गरेका थिए ।

अहिले उनी भेन्टिलेटरमा रहेको र बोल्न नसक्ने अवस्थामा रहेको उनका प्रतिनिधि एन्ड्रिउ वाइलीले एक विज्ञप्तिमा जनाएका छन् । उनीमाथिको हमलालाई लिएर विश्वभरिबाट प्रतिक्रिया आएको छ भने अमेरिकाका लगभग सबैजसो सञ्चारमाध्यममा उक्त खबरले प्राथमिकता पाएको छ ।

सन् १९८८ मा द सेटनिक भर्सेस पुस्तक लेखेयता रुस्दीले इस्लामिक अतिवादीहरूबाट हत्याको धम्की खेपिरहेका छन् । प्रहरीले न्यूजर्सीका हादी मतर नाम गरेका २४ वर्षीय सन्दिग्ध व्यक्तिलाई पक्राउ गरेको छ ।

ती सन्दिग्ध व्यक्तिले रुस्दी र उनीसँग प्रश्न सोधिरहेका व्यक्तिलाई पश्चिमी न्यूयोर्कस्थित शटोक्वा इन्स्टिच्यूशनमा हमला गरेको प्रहरीले जनाएको छ । “सलमानले एउटा आँखा गुमाउन सक्ने देखिन्छ; उनको हातका नशाहरूमा नराम्ररी असर पुगेको छ र उनको कलेजोमा छुरा रोपिएको कारण त्यसले काम गरिरहेको छैन,” उनका एजेन्ट वायलीले भनेका छन् ।

प्रहरीले अझै हमलाको उद्देश्य र अभियोगहरू पुष्टि गरेको छैन । प्रहरीले हमला भएको केन्द्रमा पाएका विद्युतीय उपकरण र झोलाबारे अनुसन्धान गर्न छापा मार्ने आदेशका लागि प्रक्रिया थालेको छ ।

रुस्दीलाई घाँटी र पेटमा छुरा प्रहार गरिएको अधिकारीहरूले बताएका छन् । उनलाई हेलिकोप्टरमा अस्पताल लगिएको थियो ।

भारतमा जन्मिएका उपन्यासकार रुस्दी सन् १९८१ को मिडनाइट्स चिल्ड्रेन पुस्तकबाट चर्चामा आएका थिए जुन पुस्तक यूकेमा मात्र दश लाखभन्दा धेरै सङ्ख्यामा विक्री भएको थियो ।

तर उनको चौथो पुस्तक सन् १९८८ मा छापिएको द सेटनिक भर्सेसले उनलाई झण्डै दश वर्ष लुकेर बस्न बाध्य पार्‍यो ।

हमलाकारी को हुन् ?
पेट र गर्धनमा चक्कु प्रहार गरेका रुस्दीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार हमलाकारी न्यू जर्सीका हादी मतरको उमेर २४ वर्षको छ ।

बीबीसीका धर्म मामिला सम्पादक अलीम मकबुलको विश्लेषण
द सेटनिक भर्सेस छापिएपछि ३० वर्षभन्दा बढी समयदेखि सलमान रुस्दीले ज्यान मार्ने धम्की बेहोर्दै आएका छन् । रुस्दीले आफ्नो उपन्यासको मुख्य विषयवस्तु आप्रवासी अनुभव केलाउनु रहेको बताउँछन् ।

तर केही मुश्लिमहरू पुस्तकमा पैगम्बर मोहम्मदबारे लेखिएका अंशबाट र कुरानमाथिका टिप्पणीबाट आहत भएका थिए । द सेटनिक भर्सेस लेखको जन्ममुलुक भारतमै सबभन्दा पहिले प्रतिबन्धित भएको थियो। त्यसपछि अरू मुलुकहरूले प्रतिबन्ध लगाएका थिए ।

इरानका आयातोल्लाह रुहाल्लाह खामेनेईले उनको कुख्यात फतवा जारी गरेका थिए । फतवामा उक्त पुस्तक प्रकाशित गर्ने काममा संलग्न सबैको हत्या गर्न भनिएको थियो र हत्यामा संलग्न हुने सबैलाई पुरस्कृत गर्ने भनिएको थियो । फतवा कहिले पनि औपचारिक रूपमा फिर्ता लिइएन ।

व्यापक विरोध भएको देखेपछि अचम्भित भएका सलमान रुस्दीले मुश्लिमहरूसँग क्षमा मागे र लुकेर बस्न थाले । ‘मिडनाइट्स चिल्ड्रेन’ भारतबारे थियो भने रुस्दीको तेस्रो उपन्यास सन् १९८३ मा प्रकाशित ‘शेम’ चाहिँ मुस्किलले लुकिरहेको पाकिस्तानबारे थियो । चार वर्ष पछि रुस्दीले ‘द ज्यागुअर स्माइल’ लेखे जुन निकारागुआको यात्रा विवरण थियो ।

हमलाकारीले आक्रमण किन गरे भन्ने कुरा अनुसन्धानका लागि एफबीआईको पनि मद्दत लिन लागिएको प्रहरीले जनाएको छ । सन्दिग्ध हमलाकारी हादी मतार एक्लै आएको पनि बताइएको छ ।

सन्दिग्ध हादी मतार दौडँदै मञ्चतर्फ गएको र सलमान रुस्दीको घाँटी र पेटमा कम्तीमा एक एक पटक चक्कु प्रहार गरेको बताइएको छ ।

नाइट उपाधि र विवाद
रुस्दीलाई ब्रिटिश महारानीले सन् २००७ मा नाइट उपाधि दिएका बेला पाकिस्तान र इरानमा विरोध प्रदर्शन भएको थियो र महारानीको सम्मानले “आत्मघाती आक्रमण हुन योग्य” भनेका थिए ।

रुस्दी सहभागी हुने कैयौँ कार्यक्रमहरू कैयौँले बहिस्कार गर्थे र खतराको जोखिममा पर्थे तर उनले निरन्तर रूपमा लेखिरहेका छन् । उनको अर्को उपन्यास ‘भिक्ट्री’ सिटी सन् २०२३ को फेब्रुअरीमा प्रकाशित हुने तय भएको छ ।

रुस्दीलाई आक्रमण भएपछि कसले के भने ?
यूकेका प्रधानमन्त्री बोरिस जोन्सनले ट्वीटमा भनेका छन्: “हामीले जहिले पनि बचाउ गर्न पछि पर्न नहुने अभिव्यक्ति स्वतन्त्रताको अभ्यास गरिरहेका बेला सर सलमान रुस्दीमाथि आक्रमण भएको देख्दा गहिरो झट्का लागेको छ ।”

फ्रेञ्च राष्ट्रपति एमानुअल म्याक्रोँले लेखेका छन्, “स्वतन्त्रताका पक्षधर र प्रगतिवादी रुस्दीमाथि क्रूर र घृणावादीले आक्रमण” गरेका छन् ।

लेखक तथा ग्राफिक उपन्यास सर्जक नील गेइम्यानले आफ्ना मित्र तथा लेखक रुस्दीमाथि भएको आक्रमणबाट आफू “स्तब्ध र आक्रोशित” भएको बताएका छन् ।

पेङ्गुइन र्‍यान्डम हाउसमा रुस्दीका प्रकाशकहरूले एक विज्ञप्ति जारी गर्दै “हामी यो हिंसात्मक आक्रमणको विरोध गर्छौँ र यो दुखको घडीमा हामी उनका परिवारजनसँगै छौँ” भनेका छन् ।

लेखाइकै कारण बाङ्लादेश छोडी भारतमा उनीजस्तै लुकेर बस्न बाध्य अर्की लेखक तस्लिम नसरिनले रुस्दीमाथिको आक्रमणपछि आफूलाई पनि सुरक्षाको त्रास पैदा भएको लेखेकी छन् । (स्रोत : बिबिसी)

तपाईको प्रतिक्रिया