विषयगत मन्त्रालयलाई ताकेता गर्न निर्देशन

  साउन २०, २०७९

कर्णाली, साउन २० : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले साउन २ गते नै नयाँ योजनाको अख्तियारी पठाइसकेकाले योजना कार्यान्वयन नगरी व्यक्तिगत काममा कर्मचारी खटिएको भन्दै तत्काल विषयगत मन्त्रालयलाई ताकेता गर्न निर्देशन दिनुभएको छ ।

उहाँले अधिकांश जिल्लाका कार्यालय प्रमुख व्यक्तिगत काममा लागेका कारण कार्यालयमा काम नभएको टिप्पणी गर्नुभयो ।

कर्णाली प्रदेश सरकारको बिहीबार सम्पन्न वार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री शाहीले मन्त्री र सचिवको नाम बेचेर पैसा असुल्ने धन्दामा नलाग्न कर्मचारीलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “यस्तो प्रवृत्तिले प्रदेशको काम कसरी हुन्छ ? अबको चार महिनाभित्र प्रतिफल निस्कने गरी काम गर्न मैले तपाईहरु सबैलाई भनेको छु, मेरो कुरा किन सुन्नुहुन्न रु” मुख्यमन्त्री शाहीले अगाडि भन्नुभयो, “पैसा बुझाएर योजना पारेको भन्ने गुनासोसमेत मुख्यमन्त्री कार्यालयमा आएको छ ।

राजनीतिक नेतृत्व र कर्मचारीको समन्वय सहकार्यबाट नै प्रदेशको विकास हुन्छ । काम गर्नेले थोरै समयमा धेरै काम गर्छ तर काम नगर्नेलाई जति समय भए पनि केही नगर्ने हुँदोरहेछ ।” कानुनभन्दामाथि कोही नभएकाले गलत कामतर्फ नलाग्न मुख्यमन्त्री शाहीले सुझाव दिनुभयो ।

तपाईको प्रतिक्रिया