मकवानपुर, साउन १० : बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको प्रथमदेखि दशौँ अधिवेशनसम्ममा सञ्चालन भएका प्रदेशसभाको काम कारबाही तथा सम्पादन भएका विषयमा पत्रकारसँगको अन्तक्र्रियामा जानकारी दिनुभएको छ ।
सभामुख श्रेष्ठले प्रदेशसभाको दशौँ अधिवेशनसम्ममा कूल २४० बैठक २८८ घण्टा बैठक बसेको बताउनुभयो । उहाँले प्रदेश सरकारले जम्मा ७५ वटा विधेयक दर्ता गरेकामा पारित भएका ७० विधेयकमध्ये मूल विधेयक ५५ र संशोधन विधेयक १५ रहेकामा ६६ विधेयक प्रमाणीकरण भएको जानकारी दिनुभयो ।
उहाँले प्रदेश सरकारले आठवटा अध्यादेश दर्ता गरेकामा पाँचवटा पारित भएको र तीनवटा पारित हुन नसकेको बताउनुभयो ।
प्रदेशसभाको दशौँ अधिवेशनसम्ममा मुख्यमन्त्रीले १४ पटक प्रदेशसभाको बैठकमा प्रदेशसभा सदस्यको प्रश्नको जवाफ दिनुभएको उहाँले बताउनुभयो । सो पत्रकारसँगको अन्तक्र्रियामा कार्यव्यवस्था परामर्श समितिका ९५ बैठक, प्रदेश मामिला समितिका ९२ बैठक, सार्वजनिक लेखा समितिका ७५ बैठक, अर्थ तथा विकास समितिका ७० बैठक, शिक्षा, स्वास्थ्य तथा कृषि समितिको ९६ बैठक र उद्योग पर्यटन तथा वातावरण समितिका ७७ पटक बैठक बसेको जानकारी दिनुभयो ।
सभामुख श्रेष्ठले प्रदेशसभाका छ समितिले प्रदेश सरकारलाई दिएका निर्देशन, सुझाव कार्यान्वयनका सम्बन्धमा, प्रदेशसभाबाट पारित भएका विधेयकको कार्यान्वयन सम्बन्धमा तथा सङ्घीयताको मर्म र भावनाअनुसार प्रदेशसभा तथा प्रदेश सरकारले गरेका कामको समीक्षा गरिने बताउनुभयो ।






