काठमाडौँ, असार २४ : नेपाल चेम्बर अफ कमर्शले महिला सशक्तीकरणको मुद्दालाई उच्च प्राथमिकतामा राखेको जनाएको छ ।
महिला चेम्बरले आज यहाँ आयोजना गरेको ‘महिलालाई विभिन्न क्षेत्रको तालिम’को उद्घाटन कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चेम्बरले महिला सशक्तीकरणको मुद्दालाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।
उहाँले हाल सूचना प्रविधिको क्षेत्रमा घरमै बसेर आम्दानी गर्न सकिने थुप्रै विकल्प रहेकाले त्यसबाट लाभ लिन पनि उहाँले आग्रह गर्नुभयो । महिलाद्वारा उत्पादित वस्तुको बजारीकरणका लागि चेम्बरले सहयोग गर्ने उहाँको भनाइ थियो ।
महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले महिलाको आर्थिक सुरक्षाका लागि तालिम सञ्चालन गरिएको बताउनुभयो । व्यापार र रोजगारी सिर्जना गर्न तालिम महत्वपूर्ण हुने उहाँको भनाइ छ ।
अध्यक्ष श्रेष्ठले महिलालाई बजारको मागअनुसारको तालिम प्रदान गर्न आवश्यक रहेको बताउनुभयो ।महिला चेम्बरले पहिलो चरणमा पाककला, सौन्दर्य कला, फोटोग्राफी, क्यान्डल क्राफ्टिङ, फेब्रिक पेन्टिङलगायतका विभिन्न छवटा क्षेत्रमा तालिम प्रदान गर्न लागेको हो ।






